नेपालगन्ज, माघ २५
राप्ती सोनारी – ३ कि बधिया थारुले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बिमाङ्क रकम प्राप्त गरेकी छन् ।
उनको श्रीमानले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपालगन्ज शाखाबाट ४ वर्ष अगाडी २ लाखको बिमा गरेका थिए जसमा ६४ हजार मात्रै प्रिमियम बुझाएका थिए ।
तर उनको श्रीमान देवराज थारुको केही महिना अगाडी पावर टेलर चलाउने क्रममा ज्यान गएको थियो ।
इन्स्योरेन्स कम्पनीको नेपालगन्ज शाखाले आज उनको २ लाख ३५ हजार २ सय रुपिया बिमाङ्क रकमको चेक हस्तान्तरण गरेको कम्पनीकी शाखा प्रबन्धक दिपा बिनाडीले जानकारी दिएकी छन् ।
रकम हस्तान्तरण गर्ने क्रममा उनका छोरा सुरेश चौधरीको समेत उपस्थीति रहेको थियो ।
मृतककी श्रीमति बधियाले सुर्या लाईफ इन्स्योरेन्सलाई धन्यवाद दिनुका साथै बिमा प्रति थप विश्वास पलाएको बताउँदै १ लाख ५० हजारको बिमा समेत सुर्या लाईफ इन्स्योरेन्समा गराएकी थिइन् ।
प्र्रक्रियागत रुपमा कहिले काँही ढिला हुने भए पनि बिमाङ्क रकम दिलाउनका लागी आफुहरु सदैव लाग्ने गरेको प्रबन्धक बिनाडीले दैनिक नेपाालगन्जलाई बताईन् ।
पछिल्लो समयमा सर्वसाधरणहरुमा बिमा गर्दा जीवनका असजिलो परिस्थीतिमा सहज हुनुका साथै रकम बचतमा समेत सजिलो हुने कुराको बुझाई बढ्दै गएको भए पनि पुर्णत विश्वस्त हुन नसकेको विज्ञहरुले बताउने गर्दछ । यद्यपी बिमा गर्दाका फाईदाहरु यस प्रकार रहेका पाइन्छः
बीमाका फाइदाहरू
१. जोखिम न्यूनीकरण हुन्छ
जीवन बीमा मानिसको जीवनमा हुने जोखिम विरुद्ध गरिन्छ । जीवनमा जुनसुकै बेला जे पनि हुन सक्छ । बीमा गर्दा बीमकलाई जोखिम हस्तान्तरण हुने हुँदा विपत्तिपछिको आर्थिक नोक्सानको भरपाई हुन्छ ।
२. भविष्यको आर्थिक सुरक्षा
जीवन बीमा आफैमा एक लामो करार हो । कुनै निश्चित समय निर्धारण गरी बीमित पक्षले त्यो अवधिसम्म किस्ता तिर्दछ र अन्त्यमा बोनससहित भुक्तानी पाउँछ, जसले गर्दा भविष्य सुनिश्चित हुन्छ ।
३. बचतको बानी बस्छ
लाखौंको कमाइले जिन्दगीमा त्यति महत्त्व राख्दैन, जति स–सानो बचतले राख्दछ । बीमा गर्दा सर्वप्रथम त बचत हुन्छ । वास्तवमा बचत नै समृद्धिको धुरीखाँबो हो । अन्य बचत योजनामा जुनसुकै बेला पैसा झिक्न मिल्छ र बीमामा पनि यो सुविधा भए पनि त्यति सजिलै झिकिँदैन । त्यसैले बीमा गर्दा अनिवार्य बचत गर्ने बानी बस्छ ।
४. बीमितको मृत्युपछि पनि उसको परिवारमा आर्थिक संकट पर्दैन
हाम्रो जस्तो मुलुकमा यसको महत्त्व अझै बढी देखिन्छ । कतिपय परिवारको आयस्रोतको बाटो भनेकै एउटा व्यक्ति मात्र हुन्छ । कुनै कारणले निजको मृत्यु भयो भने उसको घरपरिवार संकटमा पर्ने अवस्था हुन्छ । तर उसले जीवन बीमा गरेको छ भने उसको मृत्युपछि पनि उसको परिवारले बीमालेख अनुसारको रकम प्राप्त गर्दछ । यसले गर्दा परिवारलाई ठूलो आर्थिक सहायता मिल्छ । बीमा कम्पनीबाट प्राप्त रकमले परिवार आफ्नो जीविका चलाउन सक्छ ।
५. सम्पत्ति धितो विना ऋण पाइने
जीवन बीमा गर्दा बीमितले अन्य कुनै सम्पत्ति नभई बीमा पोलिसी नै धितो राखी ऋण प्राप्त गर्न सक्छन् । बीमा प्रारम्भ भएको २ वर्षपछि बीमकले आफूले तिरेको बीमाको ९० प्रतिशतसम्म ऋण लिन सक्छ, जसले अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिन्छ । ऋण लिई बीमितले कुनै व्यवसाय शुरू गरी लाभ लिन सक्छ ।
६. बुढेसकाल तथा शारीरिक अशक्त हुँदाको साथी
निश्चित अवधिसम्म बीमा प्रिमियम तिरेर त्यसपछि निश्चित समयसम्म पेन्सन सरह आम्दानी लिन सक्ने योजना पनि छन् । यस्तो बीमा गरेमा बुढेसकाल र अप्ठ्यारो परिस्थितिमा पनि आर्थिक अभाव पर्दैन ।
७. आयकरमा छूट
बीमा गर्दा तिरेको बीमाशुल्कमा आफ्नो कुल आयबाट घटाएर बाँकी रकममा मात्र आय कर लाग्छ । २० हजारसम्मको आयमा आयकर छूट प्राप्त हुने हुँदा बीमितले त्यहाँबाट पनि लाभ लिन सक्छन् ।
८. स्वास्थ्यको सुरक्षा
हालको परिवेशमा विश्वभर कुनै पनि देशका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुगेको देखिन्न । जिन्दगीभरको कमाइ कुनै एक रोगको कारणले रित्तिएर सडकमा आउनुपर्ने र कतिपयले त उपचार खर्चको अभावमा ज्यानै गुमाउनुपरेको छ । नेपालको संविधानमा स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा उल्लेख गरिए पनि स्वास्थ्य उपचारको अभावमा वर्षेनि धेरै जनाले ज्यान गुमाइरहेका छन् । स्वास्थ्य बीमाले त्यस्ता घटना र रोगको उपचारमा मद्दत गर्छ । यसरी उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन पनि बीमाको महत्त्व छ ।
(बिमाका फाईदाहरुका बारेमा विभिन्न सन्दर्भ सामाग्रीबाट संकलन गरि तयार गरिएको हो ।)