१ सय २५ घर परिवारलाई जस्ता वितरण गरिँदै
नरैनापुर(बाँके), पुष २२ । नरैनापुर गाउँपालिकामा विपन्न आवास सहयोग कार्यक्रम शुरु भएको छ । फुसरहित छाना बनाउने अभियान अन्तर्गत विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको हो । अभियान अन्तर्गत् यो आर्थिक बर्षमा गाउँपालिकाका १ सय २५ विपन्न घर परिवारलाई जस्ता पाता वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । पहिलो चरणमा वडा नम्बर ५ नयाँ बस्तीका ६० विपन्न घर परिवारलाई जस्ता पाता वितरण गरिएको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जस्ता वितरण गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह लगायतको उपस्थिति थियो । गाउँपालिकाकाको ३० प्रतिशत र ह्याबीट्याट नेपाल तथा महिला उपकार मञ्च बाँकेको ७० प्रतिशत लागतमा आवास कार्यक्रम गरिएको हो । फुसको छानाका कारण नरैनापुरमा गर्मीयाममा बर्षेनी आगालागीका घटना हुँदा बस्ती नै सखाप हुने गरेका छन् ।