नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले निर्मार्णाधिन सडकको मापदण्ड कायम गरिएको भएपनि त्यसको टुङ्गो लगाउने अधिकार वडा कार्यालयलाई दिएको बताएका छन् ।
सडक क्षेत्रफलका लागि घर, जग्गा छोड्नु पर्ने भएकाले कति क्षेत्रफल छाड्ने, कति मिटरको बाटो निर्माण गर्ने भन्ने विषय छलफल मार्फत टुङ्ग्याउने जिम्मेवारी वडा कार्यालयलाई दिइएको नगर प्रमुख डा. राणाले बताए ।
नेपालगन्जमा तोकिएको मापदण्ड भन्दा कम क्षेत्रफलमा सडक निर्माण भैरहेको भन्ने प्रश्नको जवाफ दिंदै नगर प्रमुख डा. राणाले क्षतिपूर्ति नदिइने भएकाले सहमतिमा नै अघि बढ्दा तोकिएको मापदण्ड तलमाथि हुने गरेको बताए । उनले त्रिवेणीमोडमा विवादमा कारण अवरुद्ध सडक निर्माण छिट्टै सहमति मार्फत अघि बढाउने प्रतिबद्धता जनाए ।
धम्बोझीचोक, घरबारीटोल हुँदै त्रिवेणीमोडसम्मको सडक क्षेत्रफल साढे आठ मिटर कायम भएको नगर प्रमुख डा. राणाले जानकारी दिए । वडा कार्यालयले सडक क्षेत्र १० मिटरका लागि लबिङ्ग गरिरहेपनि घरधनीहरुको सहमतिमा साढे आठ मिटरका सहमति गरिएको हो ।