महिला हिंसाको कारण मदिरा र लागु औषध

हिंसा अन्त्यको सुरुवात आफैबाट गर्नु पर्नेमा जोड
महिला हिंसा बढ्नुमा मदिरा र लागु औषध मुख्य कारक भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । महिला कानुन र विकास मञ्चले बाँकेको बैजनाथ गाउँपालिका–६ सम्झना चोकमा आयोजना गरेको सामुदायिक संवाद कार्यक्रममा बोल्दैसहभागीहरुले लागु औषधका कारण हिंसाका घटना वृद्धि भएकोमा चिन्ता व्यक्त गरेका हुन् ।
महिला हिंसा न्यूनिकरणमा समुदायको भूमिका बढाउने र गाउँस्तरमा हुने द्वन्द्वलाई संवादका माध्यामबाट समाधानको पहल खोज्ने उद्देश्यका साथ संवाद कार्यक्रमको आयोजना गरिएको अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

 
सम्बाद कार्यक्रमा बोल्दै बैजनाथ गाउँपालिका ६ का वडा अध्यक्ष भद्र बहादुर बस्नेतले महिला मात्रै नभइ पुरुष पनि हिंसामा पर्ने गरेको बताए । महिलाहरु बैदेशिक रोजगारी, मोबाइल लगायतका सामाजिक सञ्जालका कारणले पनि महिला हिंसाका पर्ने गरेको बस्नेतको भनाइ थियो ।

 
१४÷ १५ बर्षका बालकहरु समेत लागु औषधको नसामा फस्ने गरेको र यसले महिला हिंसा र चोरीका घटना बढाएको गएको प्रहरी चौकीका प्रहरी जवान केवलराम थारुले बताए । गाउँमा अहिले पनि महिलाहरु विभिन्न बहानामा हिंसामा पर्ने गरेको मेलमिलापकर्ता तुलसी ज्ञवालीले बताइन् । बोक्सीको आरोप लगाउने, महिलालाई बिलासिताको वस्तु ठान्ने प्रवृत्ति विद्यमान रहेको ज्ञवालीले भनिन् ।

 
विभिन्न बहानामा महिला उपर शारीरिक र मानसिक हिंसाका घटना हुने गरेको स्थानीय कोकिला शर्माले बताइन् ।
अधिवक्ता वसन्त गौतमले महिला उपर हिंसाका घटना कानूनी अपराध भएकाले गम्भीर प्रकृतिका फौजदारी अपराधमा मेलमिलापबाट टुंगाउन नहुनेमा जोड दिए । गाउँमा सामान्य प्रकृतिका विवादले पनि हिंसाको रुप लिने सक्ने भएकाले सम्बादका माध्यामबाट द्वन्द्व समाधान गर्न सकिने गौतमले बताए ।

 
गाउँघरमा हुने सानातिना द्वन्द्व र विवादलाई सामुदायिक सम्बादका माध्यामबाट समाधान खोज्न उपयुक्त हुने भन्दै कार्यक्रममा सहभागीहरुले महिला हिंसा रोकथामको सुरुवात आफैबाट गरिनु पर्नेमा जोड दिएका थिए । भरिसक्य हिंसाको घटना हुनै नदिने र भैहाले पीडितलाई न्यायको महसुस हुने गरि समाधानको बाटो पहिल्याउनु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया