सब स्टेशन बनेको ५ बर्षपछि विद्युत

आज जलस्रोत मन्त्री पुनले विद्युत सेवा उद्घाटन गर्दै

 

आफ्नो गाउँमा विद्युतको सब स्टेशन बनेको ५ बर्ष पछि राप्ती सोनारी १ कुसुमका जनताले विद्युत बात्ती बाल्न पाउने भएका छन् । बाँकेको पूर्वी कुसुम ११ केभी र पश्चिम दाङ १३२ केभी लाइन विस्तार गर्नका लागि २०७० सालमा सब स्टेशन निर्माण भएको भएपनि हालसम्म १ किलो मिटरको दुरीमा रहेको गाउँमा बत्ती बलेको थिएन ।
पश्चिम दाङको हाउपुर लगायतका क्षेत्रमा सोही स्थानबाट गएको लाइनबाट सिमेन्ट उद्योगहरु सञ्चालित थिए । सामुदायिक ग्रामीण विद्युतिकरण अन्र्तगत कुसुममा बति बाल्नका लागि २०७१ सालमा टेण्डर गरि १ बर्ष भित्रका सक्ने गरि ठेक्का दिइएको थियो ।

 
वि.सं. २०७२ सालमा सकी सक्नु काम ठेकेदारले नगरिदिंदा आफुहरु बत्ती बाल्नबाट वञ्चित हुनु परेको समुदायिक विद्युतीकरण सहकारी संस्थाका अध्यक्ष तेज प्रसाद सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार, हाल कुसुम बजार क्षेत्रका १ सय ५० उपभोक्तका घरमा बत्ती बलेका छन् । ४ सय उपभोक्तालाई मिटर वितरण भई सकेकाले तीनमा पनि छिट्टै बत्ती बल्ने सुवेदीको भनाइ छ । उनका अनुसार, राप्ती सोनारी १ कुसुम क्षेत्रमा १३ वटा ट्रान्सर्फमर जडान गरिएकोमा ९ वटालाई चार्ज गर्ने तयारी पूरा भएको छ ।

 

 

नदीपारी सिक्टा र गाभर क्षेत्रमा अझै केही काम बाँकी रहेकाले बत्ती बाल्न केही समय लाग्ने छ । अध्यक्ष सुवेदीले सामुदायिक ग्रामीण विद्युतीकरण आयोजनाको ९० प्रतिशत र उपभोक्ताको १० प्रतिशत लागत साझेदारीमा काम भइरहेको छ । राप्ती सोनारी १ हरिकृष्ण ओलीले आफुहरु बत्ती मुनिको अँध्यारोमा बस्न बाध्य भएको बताउँदै हाल आएर केन्द्रका सभासद् महेश्वर गहतराज अथक र प्रदेश सभासद् कृष्णा केसीको विशेष पहलमा बत्ती बाल्न सफल भएको बताए । उनले बाँकी क्षेत्रमा पनि छिटो भन्दा छिटो बत्ती बाल्न पहल गरिनु पर्ने धारणा राखे ।

 

 

यसैबीच सामुदायिक ग्रामीण विद्युतीकरण अन्तर्गत राप्तीसोनारी गाउँपालिकाको खासकुश्मा कुसुममा बत्ती बाल्ने कार्यक्रमको उद्घाटन गर्न वर्तमान सरकारका सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन ‘अनन्त’ बाँके आएका छन् ।
आज मंगलबार मन्त्री पुनले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तय भएको बाँके निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज अथकले जानकारी दिए । राप्तीपारीका सबै क्षेत्रलाई विद्युतीकरणसँग जोड्ने अभियान अन्तर्गत पहिलो चरणमा खासकुश्माको कुसुममा पहिलो पटक बत्ती बाल्न लागिएको बताए । राप्तीपारीका विभिन्न क्षेत्रमा विद्युत विस्तारका लागि यस क्षेत्रका संघीय सांसद अथक र ५ नं. प्रदेशका सांसद कृष्णा केसी नमुनाले पहल गर्दै आएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया