‘बाँकेमा बेहिसाब भ्रष्टाचार’

भ्रष्टाचार नियन्त्रणमा सक्रिय रहेको निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याँकले बाँकेमा बेहिसाब भ्रष्टाचार रहेको देखाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा आयोगको कार्यालय कोहलपुरमा बाँकेबाट १ सय ६५ वटा उजुरी दर्ता भएका छन् । कार्यालयको कार्यक्षेत्र बाँके, बर्दिया, दाङ, प्युठान र रोल्पामध्ये सबैभन्दा बढि बाँकेबाट उजुरी परेकोले भ्रष्टाचारको अवस्था उच्च रहेको बताइएको छ ।

नेपालगन्जमा शुक्रबार आयोगले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुख एसपी ईश्वर कार्कीले प्रस्तुत गरेको तथ्यांकमा ५ जिल्लामा ६ महिनाको अवधिमा ४ सय ६ वटा उजुरी दर्ता भएको उल्लेख छ ।

तथ्यांकका अनुसार बाँकेपछि दाङमा १ सय ६, बर्दियामा १ सय, रोल्पामा ३० र प्युठानमा ५ वटा भ्रष्टाचारका उजुरी दर्ता भएका हुन् । आयोग कार्यालयका प्रमुख एसपी कार्कीले सरकारी कार्यालयमा हुने भ्रष्टाचार नियन्त्रण गर्न एकीकृत प्रयास जारी राख्नुपर्ने बताए ।

भ्रष्टाचारले कालान्तरमा देशलाई असफल साबित गर्नसक्ने भएकोले सबै मिलेर भ्रष्टाचार नियन्त्रणमा निरन्तर लागिरहनुपर्ने कार्कीले बताए । बाँकेमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढि संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्तर्गत ३९, शिक्षा कार्यालयको ३७, वन तथा भु–संरक्षणका २४, गृह र भुमिसुधारका १२–१२ उजुरी दर्ता भएका हुन् ।

अख्तियार प्रमुख पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै पत्रकारहरुले आयोगको काम, कमी कमजोरी, अधिकार क्षेत्र र भएका कमी कमजोरी खुलेर औंल्याउनु पर्ने आवश्यकता रहेको बताए । उनले अख्तियारले गर्ने गतिविधिमा मीडियाको भूमिका उत्तिकै प्रभावकारी रहेको बताउँदै, भ्रष्टाचार विरुद्ध कलम चलाउन आग्रह गरे ।

भ्रष्टाचार विषेशगरि संघिय, शिक्षा, र वनमा बढि भएकोले सम्बन्धित कार्यालयका प्रमुख यसका विरुद्ध प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने अख्तियारको सुझाव छ । भ्रष्टाचार हरेक ब्यक्तिको जीवन संग जोडिएकोले यसको विरुद्धका खुलेर लाग्न आम नागरिकलाई समेत पोखरेलले आग्रह गरे । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, सबै सार्वजनिक सरोकारवाला कार्यालयका प्रमुख, नेपालगन्ज उपमहानगरपालीकाका मेयर डा.धवल सम्शेर राणा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया