आख्यानकार इन्द्रबहादुर भण्डारीको चौथो उपन्यास ‘देई’ शनिवार लोकार्पण गरिएको छ । औपचारिक कार्यक्रमबीच प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले लोकार्पण गरेका हुन् ।
प्रतिभा साहित्य समाज खजुराको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यिक श्रष्टाहरुले उपन्यास र उपन्यासकारबारे धारणा राखेका थिए । समाजका अध्यक्ष शिशिर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा समालोचक इश्वरी प्रसाद रिजाल, पुष्कर नाथ रिजाल र मिना बरालले बिमोचित उपन्यासको समालोचना र बिमर्श प्रस्तुत गरेका थिए ।
भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सिना, पूर्णिमा साहित्य समाजका अध्यक्ष कपिल अन्जान, साहित्यकार किरण आचार्य, महानन्द ढकाल, बोधराज प्याकुरेल, हरि सुवेदी, प्रभात सुबेदी, ऋचा लुँईटेल, सुमित्रा न्यौपाने, सागर गैरे, ऋषिराम सापकोटा, मित्रलाल सापकोटा श्रष्टाहरुबीच भएको लोकार्पण कार्यक्रममा समाजकी उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तब्य र सचिब जिबराज बमले कार्यक्रमको सहजीकरण गरेका थिए ।
सांङ्ग्रिला प्रकाशन काठमाडौंले प्रकाशन गरेको ‘देई’ भण्डारीको चौथो उपन्यास हो ।

सरस्वती दिवसलाई साहित्य दिवस प्रस्ताव
नेपाली साहित्यका सर्जकहरुले विद्याकी देवी सरस्वतीको दिन वसन्त पन्चमीका दिनलाई सबै साहित्यका संस्था र व्यक्ति एउटा साझा मञ्चमा रहेर साहित्य दिवस मनाउन प्रस्ताव गरेका छन् ।
‘नेपाली भाषालाई समृद्ध बनाउनका लागि नेपालका सबै स्थानीय भाषाहरुका शब्दलाई समेटेर छुट्टै शब्दकोष बनाउनु पर्ने आवश्यकता छ,’ शनिवार आयोजित साहित्यिक कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनद रेग्मीले भने, ‘सबै नेपालीले बुझ्न सहज होस् ।’ प्रतिभा साहित्य समाज खजुराले आयोजना गरेको उपन्यास विमोचन कार्यक्रममा रेग्मीको भनाइ थियो, ‘ताकी देई जस्ता आन्चलिक उपन्यासमा प्रयोग भएका शब्दहरुको अर्थ सबैले बुझन सकुन् ।’
कर्यक्रममा सहभागी जरोकिलो प्रतिष्ठान नेपालका आजीवन सदस्य मित्रलाल सापकोटाले त्यसतर्फ आफुहरुले काम शुरु गरिसकेको बताए । ‘ वसन्त पन्चमीलाई साहित्य दिवसका रुपमा मनाउन हामीले थालिसकेका छौं,’ प्रतिष्ठानका आजीवन सदस्य सापकोटाले वरिष्ठ साहित्यकार रेग्मीसँग भने ।