कवाली सुन्न ठेलमठेल


बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर २ मियाँपुर्वामा चलिरहेको मेलामा कवाली सुन्न सयौं मानिस उपस्थित भए । कवाली सुन्न स्थानीयसंगै भारतको श्रावस्ती, बहराइच, गोण्डा, बलरामपुर, गुजरातदेखि समेत मानिसहरु मियाँपुर्वा पुगेका थिए । रातिको समयमा ठेलमठेल भीडका बीच भारतको कानपुर र इलाहाबादबाट आउनुभएका सरिफ परवाज र नेहानाजले कवाली गाउनुभएको थियो ।

कवाली गायन मेलाको प्रमुख आकर्षणका रुपमा रहेको छ । मुस्लिम धर्मगुरुको सम्झनामा डेढ सय बर्षदेखि लाग्दै आएको मेला यस बर्ष पनि नरैनापुर गाउँपालिका वडा नम्बर २ को मियाँपुर्वामा गत २२ गतेदेखि चलिरहेको छ । १८ बर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ । मेलामा बाँके, बर्दिया लगायत छिमेकी मुलुक भारतको बहराइच, श्रावस्ती, गोण्डा, बलरामपुर लगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दर्शालुहरु आउने गरेको मेला आयोजक एवम् नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी बताउनुभयो । सबै धर्मका मानिसहरु पुगेर रमाइलो गर्ने र आपसी सद्भाब बढाउने मेलाको बिशेषता रहेको शाहले बताउनुभयो ।

मेला स्थलमा रहेको खलिफा सैयद नुर अहमद शाहको मजारप्रति दर्शालुहरुको धार्मिक आस्था रहेकाले च्यादर चढाउने, भाकल हाल्नेहरुको पनि मेलामा भीड लाग्ने गरेको छ । मेलामा दर्शकहरुको मनोरञ्जनका लागि भारतबाट आएका प्रसिद्ध नौटन्की नाचका साथै नेपाल र भारतका ब्यापारीहरुको स्टलहरु रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया