प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार वरिष्ठ श्रष्टा महेशविक्रम शाहलाई अर्पण गरिंदै
नेपालगन्ज : गायक, कवि, साहित्यकार स्वर्गीय प्रेम प्रकाश मल्ल ‘मधुकर’ को ८४ औ जन्म जयन्ती आज शनिवार विभिन्न कार्यक्रम गरि मनाइँदै छ । मधुकरको चौथो स्मृति कार्यक्रम समेत रहेको आज भेरी साहित्य समाजले प्रेम प्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार समेत आज अर्पण गर्ने कार्यक्रम राखेको जनाएको छ ।
समाजका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाका अनुसार, स्वर्गीय प्रेम प्रकाश मल्ल ‘मधुकर’ को ८४ औ जन्म जयन्तीको अवसर पारेर बहुभाषिक कवि गोष्ठी तथा प्रेम प्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार अर्पण कार्यक्रम राखिएको हो ।
यसबर्षको प्रेम प्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार वरिष्ठ श्रष्ठा महेशविक्रम शाहलाई प्रदान गरिने भएको छ । वरिष्ठ कथाकार शाहले ‘छापामारको छोरो’का लागि वि.सं. २०६३ सालको मदन पुरस्कार पाएका हुन् । २०२२ साल भदौ १५ गते वैद्यनाथ, अछाममा जन्मिएका महेशविक्रम शाह एम.पि.ए., बि.एल, बि.एस्सी. सम्मको शिक्षा हासिल गरी २०४६ साल देखि प्रहरी सेवामा संलग्न छन् । प्रहरी सेवामा शाह हाल डिआइजी हुन् ।
झण्डै चार दशकको कथा यात्रामा वरिष्ठ स्रष्टा शाहका सटाहा (२०५३), सिपाहीकी स्वास्नी (२०५९), अफ्रिकन अमिगो (२०६०), छापामारको छोरो (२०६३), काठमाडौँमा कामरेड (२०६५) तथा ज्याक्सन हाइट (२०६९) नामक कथा सङ्ग्रह प्रकाशित छन् ।
यसअघि वरिष्ठ समालोचक डा. जीवेन्द्रदेव गिरि, वरिष्ठ उर्दु सायर अब्दुल लतिफ शौक, प्रा.डा. गोपाल प्रसाद अधिकारी र वरिष्ठ पत्रकार पूर्णलाल चुकलाई प्रेम प्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार अर्पण गरिसकिएको छ । समाजले स्व. मधुकरकी छोरी वाणी श्री मल्लको सहयोगमा पुरस्कार कोष समेत स्थापना गरेको छ । कोष स्थापना भएपनि हालसम्म पुरस्कार राशी २५ हजार १११ रुपिया छोरी वाणीश्रीलेनै प्रदान गर्दै आएको समाजका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।