पहिलो पटक नेपालगन्जमा प्रकट पंगेनी गुञ्जिने भएका छन् । माघीको अवसर पारेर विभिन्न संघ, संस्थाहरुले प्रकट साँझ गर्न लागेका हुन् ।
प्रकट पंगेनी ‘शिब’, नेपाली बाङ्मयको क्षेत्रमा नयाँ नाम होइन । हरेक उत्पादनको आफ्नै ‘पकेट जोन’ हुने गर्छ । पोखराका रैथाने यी साहित्यस्रष्टा, पोखरामै जन्मे, पोखरामै हुर्के अनि नेपाली साहित्यको तलाउमा पोखरामै ‘बाँकटे’ मार्न थाले । एक अमुक पात्र ‘अन्ना’ लाई आफ्नो साहित्यसृजनाको उद्गमश्रोत मान्ने यी सर्जक भुगोलको परिधी भन्दा पनि भाषा, साहित्य र समाजलाई मालाको रुपमा जोड्ने एउटा धागोको रुपमा स्थापित भएको हेर्ने इच्छा हरेक साहित्यानुरागीको हो । ‘त्यसैले प्रकट साँझको आयोजना गर्ने सोंच बन्यो’, कार्यक्रम संयोजक डा. बद्री चापागाईले दैनिक नेपालगन्जसँग भने ।
लायन्स क्लब अफ नेपालगन्ज सामाजिक विकास, मानव सेवा, धर्म, संस्कृति संरक्षण र सम्वद्र्धनमा काम गर्ने संस्था हो । हरेक वर्ष लायन्स क्लब अफ नेपालगन्जले शिक्षा, स्वास्थ्य र संस्कृतिका क्षेत्रमा विविध काम गर्दै आएको छ । यस पटक लोकप्रिय गजलकार प्रकट पंगेनीको गजल साझ गर्ने तयारी गरिरहेको छ । जुन कार्यक्रमबाट उठेको रकम संस्थाले अन्य सामाजिक र मानवीय कार्यमा खर्च गर्ने डा. चापागाईले जानकारी दिए ।
मल्हमपट्टी मर्निङ वाक ग्रुप नेपालगन्जमा रहेर समाजका बिबिध क्षेत्रमा सक्रिय बिभिन्न पेशाकर्मीहरु हरेक बिहान आफ्नो स्वास्थ्यको निम्ति मर्निङ वाकमा निस्कनेहरुको अनौपचारिक क्लब हो । चिकित्सक, वकिल, पत्रकार, मानवधिकार अभियन्ता, व्यापारी, राजनीतिकर्मी र समाजसेवी जस्ता अगल र पृथक धारका बिभिन्न सक्रिय व्यक्तिहरुको यो जमात बेलाबेलामा बिभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहन्छ । गत तिहारमा समेत देउसी भैलोको माध्यमबाट रु ३ (तीन) लाख सहयोग जम्मा गरी नीलसागर असाह्य तथा बृद्धाश्रमलाई हस्तान्तरण गरेको थियो । ‘त्यस कार्यक्रमले पनि हामीलाई उत्साहित बनायो’, सशुल्क गजल साँझ गर्न लागिएको जानकारी दिंदै डा. चापागाईले भने ।
नेपालगन्ज नेपालको एउटा बिशिष्ट गुण बोकेको शहर हो । हिन्दु, मुस्लिम, मधेसी, पहाडी, थारु र अन्य जनजातीको सद्भावपुर्ण सहअस्तित्व यो भन्दा असल रुपमा सायदै अन्य कुनै सहरमा देख्न पाइएला । विविधतामा एकता, नेपालगन्जको बिशेषता हो भन्ने कुरा थारुहरुमा महान् पर्वकै अवसर पारेर यो कार्यक्रमको आयोजना गर्न लागिएको कुराले पनि दर्शाउने आयोजकहरुको भनाइ छ । ‘साँच्चिकै यो एउटा अवसर हो’, कार्यक्रमको तयारीमा जुटेकी स्रष्टा ऋचा लुइटेलले दैनिक नेपालगन्जसँग भनिन् ।
माघे संक्रान्ति नेपालका प्राय जातजाती, समुदायले मनाउने चाड हो भन्दा अत्युक्ति नहोला । अझ थारु समुदायमा यसको छुट्टै महत्व छ । थारु समुदायले यसलाई नयाँ बर्षको रुपमा मात्र नभइ सबैभन्दा ठूलो चाड समेत हो । ‘दुवै पर्वलाई पारेर उत्सवका रुपमा पनि प्रकट साँझ आयोजना गर्न लागिएको’ आयोजकको भनाइ छ ।
‘नेपालगन्जबासीलाई शीतलहरको बिचमा प्रकट पँगेनी ‘शिब’ का श्रृङ्गार रसले ओपप्रोत प्रेमिल गजलहरुको ‘महफिल’ मा तताउने जमर्को हामीले गरेका छौं’, संयोजक डा. चापागाईले भने, ‘कुनै पनि सृजना तब मात्र सार्थक हुन्छ जब त्यसले पारखी उपभोक्ता पाउँछ ।’ काठमाडौं र पोखरा लगायत नेपालका पूर्वी सहरहरुमा बिभिन्न कार्यक्रम गरेका गजलकारलाई पश्चिम नेपालसँग साक्षात्कार गराउने पहिलो अवसरका रुपमा चित्रित गर्दै डा. चापागाईले माघीको पूर्व सन्ध्यामा सोमबार भव्य जमघट हुने विश्वास गरिएको बताए ।