(तस्विर: रमेश मल्ल)
नेपालगन्जमा शुक्रबार ‘सामाजिक सद्भावका लागि सांगीतिक कार्यक्रम’ गरिएको छ । सामाजिक सद्भाव समितिले समाजका विभिन्न प्रतिनिधिमूलक व्यक्तित्वहरुलाई एकै ठाउँमा राखी सांगीतिक कार्यक्रमको आयोजना गरेको हो । चर्चित गायिका मेलिना राई र कन्क्राइष्ट राईले राष्ट्रियता, सामाजिक सद्भावदेखि बहुचर्चित आफ्नो गीतहरुको प्रस्तुति गरेका थिए ।
‘सबैलाई एक ठाउँमा राखेर आपसी सद्भावको साटफेर गर्ने आयोजनाको उद्देश्य हो’, कार्यक्रमका सुत्रधार, गीतकार समेत रहेका बाँके प्रहरी प्रमुख टेक बहादुर तामाङले भने, ‘यसले सामाजिक रुपमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।’ कार्यक्रममा राईका तीन वटा गीतको प्रस्तुति गरिएको थियो । सामाजिक सद्भाव मूल समिति बाँके, नेपालगन्जको आयोजनामा भएको कार्यक्रममा स्वागत गर्दै समितिका अध्यक्ष नन्दलाल वैश्यले गीत संगीतले समाजलाई जोड्ने बताए ।
जिल्लाका ५ सय बढी प्रतिनिधिमूलक व्यक्तिहरुको सहभागितामा भएको कार्यक्रममा ओम फिटनेसका कलाकारहरुले सामूहिक तथा एकल नृत्य समेत प्रस्तुत गरेका थिए । जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदी र बार्दली फाउण्डेसनका सचिव ऋचा लुइँटेलले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय कलाकार राईद्वयको प्रस्तुतिले निकै मनोरञ्जन र सन्देश प्रवाह गर्न सफल भएको सहभागी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले प्रतिक्रिया दिए । ‘यसखालका कार्यक्रम सामाजिक सद्भावका लागि छुट्टै अर्थपूर्ण हुन्छन्’, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का निवर्तमान गभर्नर मधुसुदन शर्मा रिजालले भने ।