साइकल यात्रीहरुले उत्सवको रुपमा मनाउने गरेका ‘कोरा च्यालेन्ज’ नेपालगन्जमा पनि आयोजना गरिएको छ । देशभर जुलाई १६ मा आयोजना गरिंदै आएको कोरा च्यालेन्ज नेपालगन्ज साइक्लिङ्ग क्लबले केही बर्षयता ‘नेपालगन्ज कोरा’ का नाममा आयोजना गर्दै आएको हो ।
शनिबार साइकल यात्रीहरु बीच पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले नेपालगन्ज कोरा २०२२ को समुद्घाटन गरे । क्लब अध्यक्ष सतिश निरौलाको नेतृत्वमा भएको आयोजनामा तीन चरणका च्यालेन्ज आयोजना गरिएको कार्यक्रम संयोजक प्रदिप सापकोटाले जानकारी दिए ।
संयोजक सापकोटाका अनुसार, सबै भन्दा बढी १ सय किलोमिटरको च्यालेन्जमा ३० जनाले सहभागिता जनाएका छन् । २५ किलोमिटर र ५० किलोमिटरमा ५० बढीले सहभागिता जनाएको कार्यक्रम संयोजक सापकोटाले जानकारी दिए । ‘जिल्लामा भएका सबै धार्मिक प्रतिष्ठानहरुलाई परिक्रमा गरेर साइकल यात्रीहरु नेपालगन्ज फर्किएका छन्’, शनिबार अबेर साँझ कार्यक्रम संयोजक सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘सबै भन्दा बढी १ सय किलोमिटर यात्रा तय गर्ने साइकलयात्रीहरु नेपालगन्जको सिटी राइडिङ सँगै कम्दी, कमर्शा, चौलिक्का, जोगागाउँ, उढरापुर, सम्झना, कोहलपुर हुँदै नेपालगन्ज फर्किएका हुन् ।’