प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता बिहिवार देखि नेपालगन्जमा सुरु भएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आठौं संस्करणको उद्घाटन गरेका हुन् । मन्त्री गहतराजले पिएमकपलाई नेपाल सरकारको रातो किताबमा उच्च प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धता जनाए । ‘यसको स्वामित्व लिन सरकार तयार छ,’ मन्त्री गहतराजले भने ।
नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जीत दर्ता गरेका छन् ।
पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गर्यो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई नेपाली सेनाका सहसेनानी जनमत कार्की, पूर्व अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजितकुमार शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कैलपाल एकेडेमीका निर्देशक रेवती सिंहले पुरस्कृत गरे ।
विगतका बर्ष भन्दा सुधारिएको प्रदर्शन गरेको लुम्बिनी आशालाग्दो टिमका रुपमा देखा परेको छ । लुम्बिनीका प्रशिक्षक अर्जुन घिमिरेले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । राष्ट्रिय टिमका खेलाडी समावेश पुलिसका अगाडि आफ्ना खेलाडी खुलेर खेलेको उनको भनाइ थियो ।
उता नेपाल पुलिसकी सहायक प्रशिक्षक कोपिला उप्रेतीले नेपाल पुलिस उपाधि जित्ने हिसाबले नेपालगन्ज आएको बताइन् । पहिलो खेलमा खेलाडीले राम्रो प्रदर्शन गर्न सफल भएको उनको भनाइ थियो । कोपिला पहिलो पटक प्रशिक्षकका रुपमा नेपालगन्ज आएकी हुन् । यसअघि नेपाल पुलिस प्रधानमन्त्री कप च्याम्पियन बन्दा कोपिला पुलिसकी महत्वपूर्ण खेलाडी थिइन् ।
विहीवारनै दोस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबे न्यु डायमन्ड एकेडेमीलाई ३–१ सेटले हरायो । आर्मीले २५–१५, २७–२९,२५–१७ र २५–२२ ले हराउन सफल भयो ।
त्यसमा आर्मीकी साफिया पुन प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई पूर्व खेलकुद प्रशासक अशोकजंग थापा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, मिठो छ टिटका संस्थापक सौभाग्यजंग शाह र भारोत्तोलनकी साग स्वर्णधारी सञ्जु चौधरीले पुरस्कृत गरे ।
फाइनल खेल झैं निकै प्रतिस्पर्धा भएको उक्त खेलमा नतिजामा आर्मीका प्रशिक्षक लोकेस बुढाले खुशी व्यक्त गरे । त्यस्तै डायमन्डका प्रशिक्षक कुमार राईले राम्रो गर्ने प्रयास गर्दागर्दै पनि नतिजा गुमाउन पुगेको प्रतिक्रिया दिए ।
लिगकम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको दोस्रो दिन पहिलो खेल नेपाल पुलिस क्लब विरुद्ध हरियाणा स्पोर्ट्स क्लब (भारत) तथा दोस्रो खेल न्यु डायमन्ड एकेडेमी विरुद्ध एकलव्य खेलकुद परिसर (छत्तीसगढ भारत)को हुनेछ ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपालपुलिस क्लब, दोस्रोमाएपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमाएपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफले पछिल्लो प्रतियोगितामा सहभागिता जनाएन ।
पिएम कप भलिबलको आठौं संस्करण उद्घाटन आज