जिल्ला स्तरीय प्रथम खुल्ला बुद्धिचाल प्रतियोगिता: १० वर्षीय अनुप बने च्याम्पियन

जिल्लाका ३० प्रतिष्पर्धीलाई उछिन्दै १० वर्षीय अनुप जंग शाह बाँकेको ‘चेस च्याम्पियन’ घोषित भएका छन् । अन्डर १० वर्ष तर्फ होप एकेडेमीका सम्यक गैरे (पुरुषतर्फ) र होलिल्याण्ड स्कूलकी आर्सी कार्की (महिला) प्रथम भए।


प्रभात मेमोरियल हाई स्कुलले आयोजना गरेको बाँके जिल्ला स्तरीय प्रथम खुल्ला बुद्धिचाल प्रतियोगितामा कक्षा ४ मा अध्ययनरत अनुप च्याम्पियन हुन सफल भएका हुन् । ‘आफुसहितका ३० सहभागी मध्ये अनुप विभिन्न चरण पार गरेर च्याम्पियन भए,’ प्रतियोगिताका चीफ आर्वीटर पशुपतिनाथ योगीले दैनिक नेपालगन्जसँग भने, ‘प्रतियोगितामा १२ जना खेलाडीहरु नगद सहित पुरस्कृत हुन सफल भएका छन् ।’
प्रतियोगिताका चीफ आर्वीटर योगीका अनुसार, ५ राउण्डमा आयोजना भएको प्रतियोगितामा ५ अंकका साथ कमल पोखरी स्कुल राझाका अनुपजंग शाह प्रथम भएका हुन् । ४ अंक जोड्दै जे.बी. स्कुलका आयुष खत्री दोश्रो, संगम पोख्रेल तेश्रो, नेपालगन्ज मोडेल एकेडेमीका सुभाष शाह चतुर्थ र ३.५ अंकका साथ भेरी प्राविधिक शिक्षालयका केशर वली पाँचौ भए ।
महिला तर्फ सगुन श्रेष्ठ प्रथम, जे.बी. स्कुलकी ज्योती शर्मा दोश्रो हुन सफल भएकी छन् । त्यसै गरि विद्यार्थी तर्फ आदर्श स्कूलका कृषु चौधरी प्रथम, कमल पोखरी स्कुलकै सौगात भाम दोश्रो तथा अन्डर १० वर्ष तर्फ होप एकेडेमीका सम्यक गैरे (पुरुषतर्फ) र होलिल्याण्ड स्कूलकी आर्सी कार्की (महिला) प्रथम भएका छन् ।

कोहलपुर बेष्टमा पञ्चमुखी स्कुलका सिद्धार्थ पुनले सफलता हात पारेका छन् । पुरस्कृत खेलाडीहरुलाई बाँके जिल्ला बुद्विचाल संघका सदस्य मदन वली र आयोजक स्कुलका भाइस प्रिन्सीपल गौरव गिरीले संयुक्त रुपमा नगद पुरस्कार, मेडल र प्रमाण पत्र वितरण गरे ।
त्यसअघि लुम्बिनी प्रदेश बुद्धिचाल संघका अध्यक्ष धनराम वली र प्रभात मेमोरियल हाई स्कुलका भाइस प्रिन्सीपल गौरव गिरीले चेसको गोटी चली उदघाटन गरिएको प्रतियोगितामा वक्ताहरुले आयोजनाको महत्व बारे प्रकाश पारेका थिए । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य पत्रकार झलक गैरेले विगत २÷३ वर्ष यता बाँके जिल्ला बुद्धिचाल संघले काँचुली नै फेरेको, धेरै फड्को मारेको विचार व्यक्त गर्दै प्रतियोगिताले प्रतिभा जन्माउदै जाने बताए ।
बाँके जिल्ला बुद्धिचाल संघका सचिव अभिराज क्षेत्रीले आगामी माघमा बाँके जिल्ला भित्र रेटिङ्ग चेस टुर्नामेंट गरिने जानकारी दिए । बर्दिया जिल्ला बुद्धिचाल संघको पूर्व अध्यक्ष एवम् लुम्बिनी प्रदेश बुद्धिचाल संघका पूर्व सदस्य किरन नापितले खेलाडीहरुलाई शुभकामना दिदै सहभागी खेलाडीहरुलाई नगद पुरस्कार तर्फ व्यक्तिगत रुपमा प्रदान घोषणा गरे ।
प्रतियोगिताका प्रमुख अतिथि धनराम वलीले लुम्बिनी प्रदेशमा चेसलाई स्कोपमुखी बनाउदै लैजाने र अन्य खेलमा जस्तै चेसका प्रशिक्षकहरु समेत नियुक्त गर्न लुम्बिनी प्रदेश सरकारसँग पहल गरिरहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया