छनोट क्रिकेटमा बाँकेको जीत

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको प्रदेश स्तरिय महिला छनोटमा बाँकेले जीतको शुरुवात थालेको छ ।

नेपालगन्जमा बुधवारबाट शुरु भएको लुम्बिनी प्रदेश स्तरिय छनोट खेलको पहिलो दिन दाङलाई ६५ रनले पछाडी पार्दै विजयी शुरुवात गरेको हो । त्यसका लागि ५ विकेट १२ रनको योगदान गर्ने बाँकेकी स्वस्तिका बजगाईं वुमेन अफ द म्याच भइन् ।


नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख उमा थापामगरले अम्पायर मन्जुल भट्टराईलाई बल दिएर शुभारम्भ गरेको छनोट खेलमा बाँके, दाङ र रुपन्देही मात्र सहभागी छ । ‘अघिल्ला वर्षहरुमा बर्दिया समेत सहभागी हुने गथ्र्यो,’ क्यान बाँकेको आयोजनामा भएको प्रतियोगिताबारे अध्यक्ष दुर्ग बहादुर थापाले दैनिक नेपालगन्जसँग भने, ‘विशेष परिस्थितिले गर्दा यसपाली बर्दियाले टिम बनाउन सकेन भन्ने जानकारी आयो ।’

कार्यक्रम संयोजक सरोवर प्रसाईका अनुसार, लिग कम नकआउटका आधारमा तीन दिनसम्म चल्ने छनोट खेलबाट लुम्बिनी प्रदेशका लागि बलियो टिम बनाउन १४ वैकल्पिकसहित १८ जना उत्कृष्ट महिला खेलाडी छनोट गरिनेछन् । उनीहरु प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा खेल्नेछन् । आज विहीवार दाङले रुपन्देहीसँग भिड्नेछ ।

प्रतिक्रिया

प्रतिक्रिया