आठौँ राष्ट्रिय खेलकूदको ‘डेड लाइन’ तय

राखेप सदस्य सचिव विष्टले भने, ‘मिसन आठौंका लागि शंकै नगरौं’

 

नेपालगन्जलाई केन्द्र बनाएर प्रदेश नं ५ मा हुने बृहत आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको ‘डेड लाइन’ तय भएको छ । औपचारिक मिति घोषणा हुन बाँकी नै रहेपनि २०७५ मैं मिसन पुरा गर्ने गरि ‘डेड लाइन’ तय गरिएको हो । त्यसका लागि चैत्रको तेस्रो साता अघिनै प्रतियोगिता सुरु हुने योजना बनाइएको छ ।

 
‘२०७५ भित्रै आठौं आयोजना हुने कुरामा कुनै शंका नगर्नुस्,’ प्रतियोगिता सञ्चालन हुने निर्माणाधिन पुर्वाधार अध्ययनका लागि दाङ पुगेर फर्किएका अधिकांश प्रदेशमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव केशव कुमार विष्टले उत्साहित हुँदै दैनिक नेपालगन्ज सँग भने । राखेपका अनुसार, आठौंका लागि खेलाडी छनोट अन्तिम चरणमा पुगिसकेको छ । कार्यकारी समितिको बैठक पटक÷पटक बसे पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्न सकेको छैन । अघिल्लो महिना बसेको कार्यकारी बैठकले जिल्ला छनोट पूरा भइसकेकाले प्रदेश छनोट शुरु गर्ने निर्णय गरे पनि प्रतियोगिताको मिति घोषणा गर्न सकेको थिएन । ‘सबै चुनौती चिरेरै प्रतियोगिता अबको एक महिना भित्रै सुरु हुन्छ, ढुक्क हुनुस्,’ पूर्वाधारका काम पनि अन्तिममा पुगेका छन् ।’

 
‘डेड लाइन’ भित्रै कुनै हालतमा मिसन सक्न सदस्य सचिवको दौडधुप पनि उत्तिकै छ । सोमवार साँझ नेपालगन्ज आइपुगेका सदस्य सचिव विष्ट अबेर रातसम्म नेपालगन्ज रंगशालामा प्राविधिक, ठेकेदार र स्थानीय खेल पदाधिकारीसँगै भेटिए । मंगलवार विहान नेपालगन्जमा ९ जिल्लाका आइटिएफ तेक्वान्दोका खेलाडीबीचको छनोट खेल उदघाटन गरेर दाङ पुगेका सदस्य सचिव विष्टले त्यहाँ उसुको प्रादेशिक छनोट समापन गरे । ‘बेलझुण्डी खेलमैदानमा दुबो रोप्ने काम पनि शुभारम्भ भएको छ,’ क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का प्रमुख भीम ओलीले दैनिक नेपालगन्जसँग भने, ‘प्रदेश ५ को छनोट सकिएकाले बुधवारबाट प्रदेश ६ र ७ को छनोटपनि घोराहीमै हुँदैछ ।’

 
राखेपका अनुसार, अधिकांश प्रदेशमा खेलाडी छनोट अन्तिम चरणमा पुगेको र एक साताभित्र सबै प्रदेशमा खेलाडी छनोट भइसक्ने अवस्था छ । राखेपले प्रतियोगिता आगामी चैत २३ देखि ३० गते गर्ने गरी आन्तरिक तयारी शुरु गरेको छ । चैत २३ गते प्रतियोगिता उद्घाटन गर्ने गरी तालिका बनेको छ । ‘समापन चैत मसान्तमैं हुनेगरि केही दिनभित्रै बस्ने बोर्ड बैठकले यस विषयमा निर्णय गर्नेछ’, सदस्य–सचिव बिष्टले भने । उनका अनुसार, आगामी चैत १६÷१७ गते देखि कतिपय प्रतियोगिता सञ्चालन गरिसक्ने राखेपको योजना छ ।

 
युवा तथा खेलकूुद मन्त्रालयले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता उद्घाटन हुने नेपालगन्ज रङ्गशाला निर्माण सक्न केही समय लाग्ने तथा अन्य पूर्वाधारको काम पनि पूरा गर्न केही समय लाग्ने भएकाले प्रतियोगिताको मिति तोक्न गाह्रो भइरहेको जनाएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समयमैं हुन नसक्नु तथा र दशरथ रङ्गशाला लगायतका ठूला पूर्वाधार समयमै नबन्दा नेपालमंै हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) समेत प्रभावित भइसकेको छ । ‘अब नेपालगन्ज रंगशालाका लागि नभै नहुने पुर्वाधारको काम पनि केही दिनमै सकिन्छ,’ भिआइपी प्यारापीटको लागि सामान आउँदै गरेको जानकारी दिंदै सदस्य सचिव विष्टले भने ।

 
गत मङ्सिर ८ गतेदेखि नेपालगन्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा आयोजना गर्ने तय भएको खेलकूद प्रतियोगिता पूर्वाधार निर्माणमा ढिलाइ भएको भन्दै औपचारिक÷ प्रस्तावित गरि तीन पटक मिति सरिसकेको छ । गत असोज महिनामा नुवाकोटको ककनीमा बसेको राखेपको सञ्चालक समितिको बैठकले मङ्सिरमा प्रतियोगिता आयोजना गर्न पूर्वाधार नबनेकाले माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी मिति तय भएको थियो । माघमा पनि पूर्वाधार नबनेको भन्दै मिति सारियो ।

 
अघिल्लो संस्करणसम्म विकास क्षेत्रका पाँच तथा तीन विभागीय टोलीले राष्ट्रिय खेलकूदमा सहभागिता जनाउँदै आएका थिए । यसपाली देश सङ्घीय संरचनामा गइसकेपछि र पहिलो पटक गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एउटा टोली पनि समावेश गर्ने भएपछि राष्ट्रिय खेलकूद पनि त्यहीअनुसार गर्दा टोली संख्या ११ पुगेको छ ।

 

 

प्रदेश ५ का छनोट खेल
क्रिकेटमा बाँके र रुपन्देही विजयी
प्रदेशस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगितामा मंगलबार भएको खेलमा रुपन्देही र बाँके जिल्ला विजयी भएका छन् । रुपन्देहीले रोल्पालाई १४३ रनको फराकिलो अन्तरले पराजित गर्यो । यस्तै, बाँकेले अर्घाखाँचीलाई ८२ रनले पराजित गर्यो । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी खेल अन्तरगत पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देहीले निर्धा्रित खेलमा ५ विकेटको क्षतिमा १८६ रनको उच्च स्कोर बनायो । जसमा निश्चल चौधरीले नटआउट ४७, संदीप सुनारले ४४, मिर्नाल गुरुङले २६, कृष्ण कार्कीले नटआउट २१ रनको योगदान गरे । बलिङमा रोल्पाका सलिम सेनले ३, सुरज रोक्का र दीपक विष्टले १÷१ विकेट लिए ।

 
प्रतिउत्तरमा उच्च लक्ष्य पछ्याएको रोल्पाले ८ विकेटको क्षतिमा जम्मा ४३ रन मात्रै बनाउन सक्यो । जसमा सरोज बस्नेतले १२ र मनिष विष्टले नटआउट ११ रन बनाउन बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । बलिङमा रुपन्देहीका कृष्ण कार्की, संदीप सुनार र शौरभ खनालले २÷२ विकेट लिए । यस्तै, अजय लोनिया र विक्रम भुसालले १÷१ विकेट लिए । संदीप खेलमा म्यान अफ दी म्याच घोषित भए ।

 
दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको बाँकेले ५ विकेट क्षतिमा १४३ रन बनायो । उसका लागि अनुपम सिंहले ३०, सुनिल भण्डारीले २९ र सिद्धान्तराज शाहीले २२ रन बनाए । बलिङमा अर्घाखाँचीका देवराज खनाल र जगतबहादुर क्षेत्रीले २÷२ विकेट लिए । प्रतिउत्तरमा अर्घाखाँचीले १६.५ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनायो । उसका लागि अरविन सारुमगरले १९ र देवराज खनालले १४ रनबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा समेट्न बलिङमा खेलका म्यान अफ दी म्याच समेत रहेका बाँकेका आकाश विष्टले ५ विकेट लिए । यस्तै, रोशनकुमार शाही, सिद्धान्तराज र दीपेन्द्र रावलले १÷१ विकेट लिए । बुधबार रुपन्देही र गुल्मी तथा कपिलवस्तु र दाङ जिल्लाबीच हुनेछ ।

 
त्यस्तै, आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन प्रदेश नम्बर ५ मा ब्याटमिन्टनको छनोट प्रतियोगिता रुपन्देही सदरमुकाम भैरहवामा सुरु भएको छ । मंगलबार भएका पुरुष एकल तर्फका खेलमा बाकेका इरफान अन्सारी,रियाज अन्सारी, सफल थापा,शिब थापा, विलाल वारीस, सहरोज अन्सारी, रुपन्देहीका जीबन थापा, बिनोद पौडेल, बिश्वास नेपाल र गणेश रायमाझी, दांगका सफिक ईद्रिस, सुरज गुप्ता, बर्दियाका खिम बहादुर घले, कपिलबस्तुका उज्जवल श्रेष्ठ, अर्घाखाँचीका भेष राज आचार्य, प्यृठानका कमल थापा प्रि क्वाटर फाइनलमा प्रबेश गरेका छन् ।

 
त्यसै गरी महिला एकल तर्फ सुष्मा श्रेष्ठ बर्दिया, अमृता थारु र तृष्णा खत्री कपिलबस्तुका खेलाडी क्वालिफाईंग राउन्डमा बिजयी हुदै पहिलो चरणमा प्रबेश गरेको प्रतियोगिताका रेफ्रि उदय अर्यालले बताए । प्रतियोगितामा प्रदेश नम्बर ५का १२ जिल्लाका ४८ पुरुष र २२ महिला खेलाडीले सहभागिता जनाएका छन् ।

 
प्रतियोगितामा पुरुष एकल तर्फ ५३ र महिला एकल तर्फ २७ खेलहरु हुनेछन् । आठौं राष्ट्रियमा प्रदेश नम्बर ५ बाट ब्याटमिन्टनमा पुरुष र महिला एकल तर्फ क्रमश ७ र ५ गरी १२ खेलाडीले सहभागिता जनाउने रुपन्देही जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख संगम सिंह थापाले बताए । यस अघि प्रतियोगिताको उदघाटन रुपन्देही जिल्ला समन्वय समितिका संयोजक एकराज बिश्वकर्माले गरेका थिए ।

 
आठौंँ राष्ट्रिय खेलकूदका लागि प्रदेश २ र ३ बाट लनटेनिस र कबड्डी टोलीको छनोट पूरा भएको छ । राखेप प्रदेश नं ३ का अनुसार, लनटेनिसमा पुरुषमा पाँच र महिलामा तीन खेलाडी छनोट भएका छन् । आठौँ राष्ट्रिय खेलकूदमा प्रदेश नं २ बाट सहभागी हुने पुरुष÷महिला कबड्डी टोली छनोट भएका छन् । त्यस्तै, प्रदेश ३ बाट ९ पुरुष र १ महिला गरी १० खेलाडी आठौं राष्ट्रिय खेलकुदका लागि छनोट भएका छन् । ती मध्ये ८ खेलाडी काठमाडौं र बाँकी २ ललितपुरबाट रहेको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । प्रदेश २ बाट सहभागी हुने फुल कन्ट्याक्ट कराते खेलाडी पनि छनोट भए । ६ पुरुष र ४ महिला गरी १० खेलाडी छनोट भए ।
मेन्स्मा टेन्डी र ओमन्स्मा अमिता बने च्याम्पियन
दाङ/लक्ष्मण बस्नेत

 

आठौं राष्ट्रिय खेलकूदका लागि मंगलवार दाङको तुलसीपुरमा भएको प्रदेश नं ५ स्तरिय टेवल टेनिस छनोट प्रतियोगिताको मेन्स् सिंगलमा बाँकेका टेन्डी शेर्पा र ओमन्स् सिंगलमा रुपन्देहीकी अमिता थापा च्याम्पियन बनेका छन् ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्ज र दाङ जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा संचालित प्रतियोगिताको फाइनलमा रुपन्देहीका कपिल थापालाई ४–२ को सेटमा पराजित गर्दै सशक्त र सानदार जित निकालेका टेन्डी मेन्स् सिंगलको च्याम्पियन बनेका हुन् । त्यस्तै दाङकी पवित्रा खनाललाई फाइनलमा ४–० को सोझो सेटमा पराजित गर्दै शानदार जित निकाल्दै अमिता ओमन्स सिंगलको च्याम्पियन बन्न सफल भएकी हुन् ।
बृहत आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मा प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्न फागुन १९ गते देखी संचालन भएको प्रतियोगितामा प्रदेश नं ५ का ११ जिल्लाका महिला तथा पुरुष गरि ४८ जना खेलाडी विच कडा प्रतिस्पर्धा भएको थियो ।

 
प्रतियोगिता बाट मेन्स् सिंगल तर्फ बाँकेका टेन्डी शेर्पा, रुपन्देहीका कपित थापा, प्युठानका प्रजोल के.सी., रुपन्देहीका प्रवेश बस्नेत र कपिलवस्तुका तिलक अधिकारी त्यस्तै ओमन्स् सिंगल तर्फ रुपन्देहीका अमिता थापा, दाङकी पवित्रा खनाल, रुपन्देहीका स्वीकृती श्रेष्ठ, दाङकी रोशनी अधिकारी र गीता अर्याल प्रदेश नं ५ टेवल टेनिसको छनोटमा पर्न सफल भएका छन् ।

 
प्रतियोगिताको समापन समारोह प्रदेश नं ५ स्तरिय खेलुकद संचालन समितिका सह संयोजक दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं टेवलटेनिसका चिफकोच बिनोद शाक्यको विशिष्ट आतिथ्यमा भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया