६ करोड बजेट माग, दुई करोड बढी खर्च
आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लिएर बाँकेको छिमेकी जिल्ला बर्दियामा पनि धमाधम भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढेको छ । आठौंमा विभिन्न चार वटा खेलको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरिएको बर्दियामा भौतिक पूर्वाधार निर्माण कार्य तिव्र रुपमा अगाडि बढेको हो ।
आठौंलाई मध्यनजर भौतिक पूर्वाधारका लागि ६ करोड रुपैयाँ माग गरिएको जिल्ला खेलकुद विकास समिति बर्दियाका अध्यक्ष खगेन्द्र खनालले जानकारी दिए । ‘तर, सरकारले दुई करोड बढी रकम मात्र उपलब्ध गराएको छ’, अध्यक्ष खनालले दैनिक नेपालगन्जसँग भने, ‘आठौंलाई मध्यनजर प्रस्तावित भौतिक पूर्वाधारहरु माघ भित्रै सम्पन्न गर्ने गरी धमाधम निर्माण भैरहेका छन् ।’
राष्ट्रिय खेलकुद परिषद्का विभिन्न उपसमितिहरुले बेलाबेलामा गरेको अनुगमनका क्रममा बर्दियाका निर्मार्णाधिन संरचना सन्तोषजनक नभएको प्रतिक्रिया दिएका छन् । तर, अध्यक्ष खनाल भन्छन्, ‘प्रदेश ५ का सबै पूर्वाधारहरु मध्ये निर्मार्णाधिनमा बर्दिया गौरव गर्ने अवस्थामा छ ।’ अनुगमनमा तीस प्रतिशत उपलब्धी देखाइएको भुरेगाउँ स्थित खोखो कबर्डहल निर्माण कार्य निकै सुस्त रहेको जिज्ञासामा अध्यक्ष खनालले फिल्डमा गर्ने काम अधिकांस भैसकेको र बाँकी बाहिर काम भैरहेकाले यसै महिना सतप्रतिशत रिजल्ट दिइने दाबी गरे । ‘तपाईहरु ढुक्क हुनुस् बर्दियाका कुनै पनि निर्मार्णाधिन पूर्वाधार माघ भित्रै निर्माण कार्य सम्पन्न गरी उद्घाटन गरी सक्ने गरी अगाडि बढेका छौं’, अध्यक्ष खनालले भने ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका अनुसार, बर्दियाको बाँसगढीमा कबड्डी कबर्ड हल निर्माण भैरहेको छ । स्थानीय सामुदायिक वनले दिएको आठ विगाह जग्गामा कबर्ड हल निर्माणसँगै कबड्डी एकेडेमी बनाउने योजना अघि सारिएको छ । त्यसका लागि कबड्डी संघका केन्द्रीय अध्यक्ष तुलसा थापा अहोरात्र सक्रिय छन् । ‘एक करोड ६२ लाख बजेट कबड्डी कबर्ड हलका लागि छुट्याइएको छ’, बाँसगढी ४ मगरकोटमा नवराज अधिकारीको अध्यक्षतामा उपभोक्ता समिति निर्माणका लागि सक्रिय भएको जानकारी दिंदै खेलकुद विकास समितिका क्षेत्रीय अध्यक्ष भीम ओलीले भने ।
अध्यक्ष ओलीका अनुसार, ठाकुरबाबा नगरपालिका–२ भुरीगाउँ रानीपुरमा खोखो कबर्डहलका लागि १ करोड ७२ लाख बजेट छुट्याइएको छ । बर्दिया खेलकुदका अध्यक्ष खनालले अघिल्लो आर्थिक बर्ष खोखोका लागि ८५ लाख र कबड्डीका लागि ८५ बजेट आएकोमा यो बर्ष १५÷१५ लाख मात्र बजेट जिल्ला खेलकुद विकास समितिमा पुगेको छ । ‘बाँकी बजेटपनि आउँदै होला’, अध्यक्ष खनालले भने, ‘प्राक्टिस भेनुका लागि दिइएको २५ लाख पनि विभिन्न ठाउँमा खेलमैदानका लागि खर्च गरिसकेका छौं ।’
क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका अनुसार, बर्दियाको सदरमुकाम गुलरियामा राखेपले १५ लाख रुपैयाँ बजेट ट्रयाक निर्माणका लागि पठाएको छ । ‘तर, गुलरिया नगरपालिकाले ७५ लाख रुपैयाँ बजेट थप गरेर कबर्ड हल निर्माण कार्य अगाडि बढाउन लागेको छ’, क्षेत्रीय अध्यक्ष ओलीले दैनिक नेपालगन्जसँग भने, ‘५२ लाख खर्च गरेर एथलेक्टिस ट्रयाक पनि बनिरहेको छ ।’
आठौंमा बर्दियाको गुलरिया, ठाकुरद्वारा, भुरेगाउँ र बाँसगढीमा छुट्टाछुट्टै चार वटा खेल आयोजना गरिंदैछ । आर्चरी (निशानाबाजी), कबड्डी, खोखो लगायतका खेल बर्दियामा आयोजना गर्न लागिएको हो ।
यसैबीच, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बुधबार बर्दियाका निर्माणाधिन खेलकुद पूर्वाधारको स्थलगत अनुगमन गरेका छन् । ‘बाँसगढीको कबर्ड हल निर्माण कार्य सन्तोषजनक ढंगले अगाडि बढिरहेको पाइयो’, अध्यक्ष ओलीले भने, ‘तुलनात्मक रुपमा खोखो कबर्डहल निर्माण कार्य सुस्त छ ।’ अध्यक्ष ओलीले सम्बन्धित जिम्मेवार पदाधिकारी, उपभोक्ता समिति, निर्माणमा खटेका प्राविधिक सबैलाई निर्माण कार्यका लागि तिव्रता दिन आवश्यक सुझाव दिइएको बताए ।