आठौं राष्ट्रिय खेलकुद तयारी अनुगमनमा स्वास्थ्य उपसमिति

आसन्न आठौं राष्ट्रिय खेलकुदको तयारीका लागि विभिन्न उपसमितिहरु क्रमशः सक्रिय भैरहेका छन् । संसदीय समितिले अनुगमन गरेर फर्किएको भोलिपल्ट राखेपद्वारा गठित खेलकुद उपसमितिले आयोजना स्थलको जायजा सुरु गरेको हो ।
राखेपका सदस्य समेत रहेका स्वास्थ्य उपसमितिका संयोजक उपेन्द्र पौडेलको नेतृत्वमा आएको अनुगमन टोलीले आइतबार भेरी अञ्चल अस्पतालका प्रमुख डा. रुपानन्द अधिकारी लगायतको टोलीसँग पूर्वाधारहरुबारे चासो लिएको छ । ‘ठूलो संख्यामा खेलाडीदेखि अफिसियल नेपालगन्ज आइपुग्दा कुनै पनि अप्रिय घटना हुँदा होस् वा स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि तयारी अवस्था उपसमितिको चासो हो’, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले भने ।
ओलीका अनुसार, अनुगमन टोली आइतबार नै बर्दियाका प्रतियोगिता स्थल नजिकका स्वास्थ्य चौकीहरुबारे जानकारी लिन पुगेको छ । ‘बर्दियाबाट दाङ्ग, कपिलवस्तु हुँदै अनुगमन टोली रुपन्देही पुग्नेछ’, अध्यक्ष ओलीले दैनिक नेपालगन्जसँग भने, ‘आठौंलाई सेवा, सुविधा र सतर्कताका दृष्टिले अन्तर्राष्ट्रिय स्तरको आयोजना बनाउन खोजिएको छ ।’

 

सकियो प्रशिक्षण

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले स्वयंसेवक तथा खेल टिचरहरुका लागि सञ्चालन गरेको तीन दिने प्रशिक्षण आइतबार सकिएको छ । राष्ट्रिय खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रेतिको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि, राखेप सदस्य शान्ति सिंहले खेलकुदमा प्रशिक्षणको महत्वबारे प्रकाश पारेकी थिइन् ।
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, राखेप सदस्य तथा स्वास्थ्य उपसमिति सदस्य उपेन्द्र पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेत, क्षेत्रीय कार्यालय प्रमुख विष्णु शर्मा, जर्मन प्रशिक्षक तिर्थ ओली लगायतले बोलेका थिए ।
खेलकुदसँग सम्बन्धित प्रतिनिधिदेखि खेल शिक्षक लगायतका ४० जनाको सहभागितामा तीन दिनसम्म जर्मन प्रशिक्षक ओली, राखेपका वरिष्ठ प्रशिक्षक राकेश श्रेष्ठ, कान्ति यादव, चन्द्र गुरुङ्ग लगायतले प्रशिक्षण दिएका थिए । तीन दिनअघि संसदीय समितिका सभापति जयपुरी घर्तीले प्रशिक्षण उद्घाटन गरेकी हुन् । ‘प्रशिक्षणबाट तयार भएका प्रशिक्षकहरु विद्यालयदेखि क्लबसम्म पुगेर खेलाडीहरु तयार गर्न क्रियाशिल हुनुहुनेछ’, प्रशिक्षणको महत्वबारे प्रकाश पार्दै अध्यक्ष ओलीले भने ।

 

 

प्रतिक्रिया

प्रतिक्रिया