भावुक योगी
दैनिक नेपालगन्ज
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले बर्दियाका विभिन्न खेलकुद मैदान तथा निमार्णधिन कभर्ड हलहरु निरिक्षण गरेका छन् । मन्त्री विश्वकर्माले बर्दियाको बाँसगढीमा निमार्णधिन कबड्डी ऐकेडमी, भुरिगाउँमा निर्माण भइरहेको खोखो कर्भड हल, ठाकुरद्वाराकोे खेल मैदान र सदरमुकाम गुलरिया रहेको खेल मैदानका साथै निमार्णाधिन कर्भड हलहरु विहिवार निरिक्षण गरेका हुन् ।
निरिक्षणका क्रममा मन्त्री विश्वकर्माले निमार्णाधिन कर्भड हलहरु निमाण कार्य तीब्र गतिले अघि बढाउन निर्देशन दिँदै भने, ‘समय निकै कम छ, निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउनुहोस्, आठौं राष्ट्रिय खेलकुदका विभिन्न खेलहरु यिनै कर्भड हलमा आयोजना हुनेछन् ।’
कर्भड हल निर्माणका क्रममा कुनै समस्या आए तत्काल केन्द्रमा जानकारी गराउन मन्त्री विश्वकर्माले आग्रह गर्दै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढेको सन्देश दिन आफु खेल मैदान निरिक्षणमा निस्केको बताए ।
आगामी मंसिर २१ देखि २८ गतेसम्म बाँकेको नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिताका विभिन्न खेलहरु बाँके सहित बर्दिया, दाङ्ग, कपिलवस्तु र रुपन्देहीमा संचालन हुनेछन् । अनुगमनका क्रममा मन्त्री विश्वकर्माले प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको बताए । ‘केन्द्रमा तयारी तीव्र गतिमा अघि बढेको छ । जिल्ला जिल्लामा पनि काम अघि बढेको छ । यही गतीमा काम भए निर्धारित समयमै प्रतियोगिता आयोजना गर्न सफल हुनेछौ,’ उनले भने ।
बर्दियामा खेलकुद प्रतियोगिताका ६ वटा विधाहरु संचालन हुने जिल्ला खेलकुद विकास समिति बर्दियाका अध्यक्ष खगेन्द्र खनालले जानकारी दिए । बर्दियाको बाँसगढी, भुरिगाउँ, ठाकुरद्वारा र गुलरियामा प्रतियोगिताका विभिन्न खेल विधाहरु संचालन हुनेछन् ।
अनुगमनका क्रममा मन्त्री विश्वकर्माले खोखो खेलका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी गोपीप्रसाद तिमिल्सेना, करिष्मा बोगटी, सिर्जना शाही र ललिता थारुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
त्यस्तै, खोखो खेलका राष्ट्रिय खेलाडी हरी वली, चन्द्रकान्त भण्डारी र पार्वती विकलाई पनि मन्त्री विश्वकर्माले सम्मान गरे । मन्त्री विश्वकर्माले गाउँगाउँबाट राष्ट्रियस्तरका खेलाडी तयार हुनुमा आफुलाई गर्व लागेको भन्दै खेलाडीहरुको प्रशंसा समेत गरे ।