ट्रेलर आउँदै गर्दा बलिउड स्टार वरुण धवनको नयाँ फिल्म ‘बेबी जोन’को माहोल गर्माएको थियो । धवनको पहिलो मास एन्टटेनर फिल्मले बक्स अफिसमा उछाल ल्याउने अपेक्षा थियो । तर पहिलो दिनमै क्रिटिक्सबाट खराब प्रतिक्रिया आएपछि फिल्मको माहोल नै बिग्रिएको छ ।
‘बेबी जोन’लाई सबैभन्दा ठूलो चुनौती ‘पुष्पा २’ बन्यो, जसले पछिल्लो तीन सातादेखि हलमा दर्शकको भीड जम्मा गरिरहेको छ । नयाँ फिल्म ‘बेबी जोन’लाई पहिलो दिनमा जति ओपनिङ मिलेको छ, त्यो भनेको ‘पुष्पा २’ ले २१ औं दिनमा गरेको कलेक्सनभन्दा पनि न्यून हो ।
अपेक्षा विपरीत ‘बेबी जोन’लाई नकारात्मक वर्ड अफ माउथ आउन थालेपछि बक्स अफिसमा यसको असर देखिन थाल्यो । यद्यपि, क्रिसमसको सिजनमा मास एन्टरटेनर हुनुको कारण फिल्मलाई अवश्य फाइदा मिल्यो । बलिउड व्यापार विश्लेषकका अनुसार पहिलो दिन १२ देखि १३ करोड भारुको आँकडामा ओपनिङ गरेको छ ।

लकडाउनपछि यसलाई वरुणको सबैभन्दा उच्च ओपनिङ मानिएको छ । कोभिडपछि रिलिज भएका उनका फिल्महरू ‘जुगजुग जियो’ र ‘भेडिया’ले १० करोड भारुभन्दा कम कलेक्सन गरे ।
५ डिसेम्बरमा रिलिज भएको अल्लु अर्जुन स्टारर ‘पुष्पा २’ ले बक्स अफिसमा तेस्रो सातामा पनि दर्शकको भीड जुटाइरहेको छ । प्रदर्शनको २१ औं दिनमा पनि अल्लु अर्जुनको फिल्मले नयाँ रिलिज ‘बेबी जोन’भन्दा धेरै कमाइ गर्यो । ‘पुष्पा २’ ले उक्त दिनमा १५ करोड भारु कमाएको छ । क्रिसमस कलेक्सनपछि ‘पुष्पा २’ को हिन्दी संस्करणको नेट कलेक्सन ७३० करोड भारु छ ।