असारमा १७ फिल्मले लिए निर्माण इजाजत (सूचीसहित)

आर्थिक वर्ष २०८०-०८१ मा १५५ फिल्मले निर्माण इजाजत लिएका छन् । आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र १७ फिल्मले निर्माण इजाजत लिएका छन् ।

असारको सुरुमा हिमाल विष्टले निर्देशन गर्ने फिल्म ‘भागदौड’ले निर्माण इजाजत लिएको छ । ७० लाख बजेट तय गरिएको यो फिल्मलाई विश्वराम विष्टले निर्माण गर्नेछन् ।छायांकन सम्पन्न भइसकेको फिल्म ‘भाइरल गोर्खे’ले असारमा मात्र इजाजत लिएको देखिएको छ । निगम श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ र बुद्धि तामाङको शीर्ष भूमिका छ ।

युवराज गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘किसान’ले पनि निर्माण अनुमति पाएको छ । गिरीसहित ध्रुव कोइराला र अरुण प्रधानलाई कलाकारको रुपमा उल्लेख गरिएको छ ।

सूर्यनाथ भट्टले निर्देशन गर्ने फिल्म ‘मण्डप’ले पनि निर्माण इजाजत लिएको छ । संगम भट्ट र करुणा अर्याललाई कलाकारको रुपमा उल्लेख गरिएको छ ।

निर्देशक सुवास कोइरालाले महेश त्रिपाठी र इन्दिरा सापकोटालाई कलाकारको रुपमा लिएर फिल्म ‘एक विसौली’को निर्माण गर्ने भएका छन् । निर्देशक टेकेन्द्र कार्कीले फिल्म ‘दायाँबायाँ’ निर्माणका लागि अनुमति लिएका छन् ।

शुभेच्छा थापाले आफ्नो निर्देशनमा फिल्म ‘निःशब्द’ निर्माणका लागि अनुमति लिएकी छन् । अनिल तामाङले कलाकारमा जयकिसन बस्नेतलाई लिएर फिल्म ‘चाँडै फर्की आऊ’ निर्देशन गर्ने भएका छन् ।

शिव श्रेष्ठ र कविता नेपालीलाई कलाकारको रुपमा लिएर दीपक नेपालीले फिल्म ‘सःस’ निर्देशन गर्ने भएका छन् । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘शुक्र र शनि’ निर्देशनका लागि निर्माण इजाजत लिएका छन् ।

उत्तमकुमार संजेलले भोजपुरी फिल्म ‘प्यार के लिए’ निर्माणको लागि इजाजत लिएका छन् । हालै ‘लण्डन टु पेरिस’ निर्देशन गरेका घनश्याम लामिछानेको नयाँ फिल्म ‘तैं चुप मैं चुप’ले पनि निर्माण इजाजत लिएको छ ।

हरि उदासीको निर्देशनमा ‘मल्लिका : द लेडी किलर’को लागि निर्माण इजाजत लिएका छन् । निर्देशक जोन राईले सौगात मल्ल, प्रशान्त राई र अनिशा रसाइलीलाई कलाकारको रुपमा लिएर फिल्म ‘बमबहादुर’ निर्देशन गर्ने भएका छन् ।

राजु अर्यालले दीपेन्द्र कोइराला र हर्षिका श्रेष्ठलाई कलाकारको रुपमा लिएर फिल्म ‘तमासा’ निर्देशन गर्ने भएका छन् । शिवालय मिडिया प्रालिले नयाँ फिल्म ‘पेपर म्यारिज’को लागि निर्माण इजाजत लिएको छ ।

सुवास रेग्मी र लिना शर्मा रेग्मीले फिल्म ‘एक नगरी’को निर्माणका लागि इजाजत लिएका छन् जसलाई रोजवे रेग्मीले निर्देशन गर्ने भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया