नेपालगन्जमा मनाइयो ‘आइसिटी डे’

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ विविध कार्यक्रम आयोजना गरी मंगलवार देशभर मनाइएको छ ।


त्यसक्रममा नेपालगन्जमा पनि क्यान फेडेरेशन बाँकेले प्रभातफेरीको आयोजना गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस, ब्राइटल्याण्ड कलेज, नेपालगन्ज क्याम्पस लगायतका विभिन्न कलेज, शिक्षालयका विद्यार्थीहरुको समेत सहभागितामा प्रभातफेरी निकालिएको हो ।


नगरका विभिन्न ठाउँमा प्रभातफेरीपछि भएको सभामा लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव रेक बहादुर भण्डारी, क्यान फेडेरेशनका केन्द्रीय उपाध्यक्ष ध्रुवराज शर्मा, प्रदेश अध्यक्ष भोजराज तिमिल्सैना, जिल्लाका संस्थापक अध्यक्ष इश्वर पोख्रेलले आइसिटीका विभिन्न पक्षबारे प्रकाश पारेका थिए ।


क्यान फेडेरेशन बाँकेका अध्यक्ष शिषिरनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रर्व अध्यक्ष जितेन्द्र जोशी, सल्लाहकार प्रकाश कक्षपतिले पनि आफ्ना धारणा राखेका थिए ।


नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । नेपालमा कम्प्युटर एशोसिएसन नेपाल (क्यान)को सन् १९९२ मा स्थापना भयो । त्यही स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालिएको हो ।


दिवस मनाउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठित मूल समारोह समितिको यही वैशाख १० गते बसेको बैठकले यस वर्षको मूल नारा पारित गर्दै मनाउने निर्णय गरेको थियो ।


सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सूचना प्रविधिको प्रयोग गरेर देशको विकास र मुलुकको समृद्धि गर्न सकिने उद्देश्यले यो दिवस मनाउन थालिएको बताए ।

उनले सूचना विश्वसनीय र भरपर्दो खालको हुनुपर्ने भन्ने सोचका साथ यस वर्षको दिवसको नारा तय गरिएको समेत जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया