बमको प्रतिबद्धता : प्राथमिकतामा महानगर

नेकपा (माओवादी केन्द्र)बाट बाँकेको प्रदेश सभा २ (२)का उम्मेदवार अकलबहादुर बमले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

नेपालगन्ज शहरको गुरुयोजना निर्माण गरि नेपालगन्ज,खजुरा र कोहलपुर शहरलाई जोडेर महा–नगरपालिकाको रुपमा विकास गर्ने गरि काम अगाडि बढाइने योजना सहितका प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

नेपालगन्जमा मंगलबार एक कार्यक्रमका बीच उम्मेदवार बमले पार्टी नेताहरुको सहभागितामा आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धता पत्रमा निर्वाचन क्षेत्रमा गर्न सकिने कामलाई समेटेको धारणा राख्दै बमले भने, ‘पुरा गर्न सकिन भने अर्काे पटक म जनतामाझ जाने नैतिकता गुमाउने छु, यो मेरो अन्तिम हुनेछ ।’

भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, खेलकूद, कृषि लगायतका विभिन्न क्षेत्र समेटेर तयार गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि आफु सक्षम उम्मेदवार भएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश सह–सचिव समेत रहेका बमको भनाइ छ ।

बाँकेको क्षेत्र नम्बर १ र ३ मा गठबन्धन हुँदै गर्दा २ नम्बर क्षेत्रमा हुन नसकेर मित्रवत प्रतिस्पर्धा गर्न लागिएको माओवादी नेता बलमे बताए । ‘अरु क्षेत्रमा संयुक्त रुपमा चुनावी प्रचार भइरहेको छ, तर विडम्बना यो क्षेत्रमा हुन सकेको छैन, हामी मित्रवत प्रतिस्पर्धा गरिरहेका छौं,’ बमले भने । उनका अनुसार, क्षेत्र नम्बर २ बाहेक अन्यत्र बाँकेमा सत्ता गठबन्धनमा समस्या छैन ।

पाँच दलबीच भागबण्डा गर्दा २०७४ सालको निर्वाचन परिणाम अनुसार गर्ने सहमति भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले क्षेत्र नम्बर २ मा काँग्रेसले एउटा पनि सिट छाड्न नमान्दा आवश्यकता अनुसार मित्रवत प्रतिस्पर्धा गर्नु परेको बमले बताए । चुनावको अन्तिम समयसम्म पनि आफ्नो उम्मेदवारी कायम रहने भन्दै कोही पनि भ्रममा पर्न नहुने बताए । बमले अन्तिम समयसम्म पनि काँग्रेसले आफुलाई समर्थन गरोस् र गठबन्धनको मर्म र आवश्यकतालाई बोध गरोस् भन्ने चाहेको बताए ।

क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक नविन शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण माओवादी नगर अध्यक्ष रतन शाहीले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया