बर्दियामा प्रमुख विष्ट, उपप्रमुखमा यादव र बाँकेमा उप–प्रमुख कार्कीको एकल उम्मेदवारी

स्थानीय तह निर्वाचन अन्तर्गत जिल्ला समन्वय समितिका निर्वाचन भइरहेका छन् । त्यसक्रममा बर्दियामा निर्विरोध हुने गरि उम्मेदवारी परेको छ ।
कुनै दलको उम्मेदवारी नपर्दा जिसस बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुर्य बहादुर विष्ट र उपप्रमुखमा गुलरिया नगरपालिकाकी अमिता कुमारी यादव निर्विरोध निर्वाचित हुने निश्चित भएको हो ।
बाँकेमा नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदमा ज्ञानेन्द्रकुमार चौधरी र उपप्रमुख पदमा सिता कार्कीले मनोनयन दर्ता गराएका छन् । प्रमुखमा जसपाका उमेश कुमार कर्मीले पनि उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाइमा पुगेर मनोनयन दर्ता गराएका हुन । उप–प्रमुखमा कार्कीको मात्रै उम्मेदवारी परेको छ । पुरुष सदस्यमा पनि चारजना निर्विरोध भएका छन् । नेपाली कांग्रेसका उदय नारायण मिश्र, जुलफकार अली मनिहार र सन्त कुमार थारु निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यकमा पनि कांग्रेसका जगदीश बाल्मिकी निर्विरोध चयन भएका छन् ।
बाँकेमा समन्वय समिति निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको थियो ।
गठबन्धनभित्र कांग्रेसले प्रमुख र उपप्रमुखसहित ४ जना सदस्य तथा जसपा, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) ले १÷१ जना सदस्य लिने सहमति भएपनि जसपाले उम्मेदवार बनाएपछि जिसस गठबन्धन पनि हल्लिएको छ ।
त्यसो त समन्वय समितिका लागि नेपाली कांग्रेसको एकल बहुमत छ । त्यही अवस्थामा नेपालगन्ज कार्यपालिका निर्वाचनमा जसपाले आफ्नो पक्षमा निर्णय लिन सफल भएको थियो । अब जिल्ला समन्वय समितिको प्रमुख र महिला सदस्यका लागि निर्वाचन हुने भएको छ । प्रमुखमा दुईजना र महिला सदस्यमा चार जनाको उम्मेदवारी परेको छ । जसमा प्रमुख एकजना र महिला सदस्य ३ जना चयन हुने छन् ।
प्रमुख पदका लागि कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी र जनता समाजवादी पार्टी (जसपा) का उमेश कुमार कुर्मीको उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यमा जसपाबाट तरन्नुन बानो शेष र लक्ष्मी पासीको उम्मेदवारी परेको छ भने नेकपा माओवादी केन्द्रबाट चमेली थरुनी र रेवती दमाईको उम्मेदवारी परेको छ ।
बाँकेमा कुल ८ वटा स्थानीय तह रहेका छन । यि मध्ये कांग्रेसले कोहलपुर नगरपालिका तथा राप्ती सोनारी, डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ ।
यस्तै नेपालगन्जमा कांग्रेसले प्रमुख र जनता समाजवादी पार्टी (जसपा) ले उपप्रमुख जितेको छ । खजुरा गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्र तथा उपप्रमुखमा कांग्रेसले जितेको छ, भने नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जसपाले जितेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही जेठ २७ गते बिहान ११ देखि १ बजेसम्म मतदान तोकेको छ । उक्त निर्वाचनका लागि कुल १६ जना मतदाता रहेका छन । यि मध्ये १२ जना मतदाता नेपाली कांग्रेसका छन् ।
बर्दियाबाट सहकर्मी भावुक योगीले दिएको समाचार अनुसार, जिल्ला समन्वय समिति बर्दियामा नेपाली काँग्रेसको समूह निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र ७ सदस्य गरि ९ सदस्यीय पदका लागि मंगलबार भएको निर्वाचन प्रकृया अनुसारको उम्मेदवारी दर्तामा अन्य कुनै पनि दलको उम्मेदवारी दर्ता नपरेपछि जिसस बर्दियामा नेपाली काँग्रेसको समुह निर्विरोध निर्वाचित भएका हुन् । जिसस प्रमुखमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुर्य बहादुर बिष्ट र उपप्रमुखमा गुलरिया नगरपालिकाकी अमिता कुमारी यादव निर्विरोध निर्वाचित भए ।
यसैगरी सदस्य पदमा गुलरिया नगरपालिकाबाट बिनय राजभण्डारी, गेरुवा गाउँपलिकाबाट तिर्थ प्रसाद जैसी, बढैयाताल गाउँपलिकाबाट पुरैलाल थारु, बारबर्दिया नगरपालिकाबाट सुनिता नेपाली, मधुवन नगरपालिकाबाट छवि भाट, राजापुर नगरपालिकाबाट बिमला थारु र बाँसगढि नगरपालिकाबाट खगिसरा कामी बिक निर्विरोध भएका छन् । मुख्य निर्वाचन कार्यालय बर्दियाले औपचारिक घोषणा भने गरिसकेको छैन ।
आठ स्थानीय तह रहेको बर्दियामा गएको बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ५ पालिकामा नेपाली काँग्रेस विजयी भएको थियो ।
गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, गेरुवा गाउँपालिकामा प्रमुख उपप्रमुख र ठाकुरबाबा नगरपालिकामा भने प्रमुखमा नेपाली काँग्रेस विजयी भएको थियो ।
यसैगरी बाँसगढि नगरपालिकाको प्रमुख, उपप्रमुख यस्तै ठाकुरबाबा नगरपालिकाको उपप्रमुख र बढैयाताल गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमाले विजयी भएको थियो ।
राजापुर नगरपालिकाको प्रमुख, उपप्रमुख र बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओबादी केन्द्र विजयी भएको थियोे । नेपाली काँग्रेस ९, नेकपा एमाले ४ र नेकपा माओवादी केन्द्र ३ गरि जिसस समिति चयनका लागि १६ मत मध्ये नेपाली काँग्रेसको ९ मत भएका कारण पनि अन्य दलको उम्मेदवारी नपर्दा जिससमा नेपाली काँग्रेस निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
जिसस समितिका लागि जेठ २४ उम्मेदवारी दर्ता र जेठ २८ गते निर्वाचन हुने निर्वाचन कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियोे । अन्य दलको उम्मेदवारी नपरेपछि जिसस पदाधिकारीमा निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्ला समन्वय समितिमा वडाध्यक्ष निर्वाचित भएपछि रिक्त रहेको वडामा पुनः निर्वाचन हुने प्रावधान छ । निर्वाचन आयोगले वडाध्यक्ष रिक्त रहेको वडामा ६ महिनाभित्र उप निर्वाचन गर्ने जनाइएको छ ।