गोदारले सम्हाले खजुरा खानेपानी

खानेपानीको कार्यशैली सुधार गर्न पहिलो दिननै सुझाव

अध्यक्ष नोक बहादुर गोदारलाई निर्वाचन समिति संयोजक मित्रलाल सापकोटाले खानेपानीको कार्यशैली र निर्वाचन सुधार सम्बन्धमा सुझाव पत्र बुझाए


खजुरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ कार्यसमितिलाई निर्वाचन समितिले सोमवार निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ ।
माघ २९ मा भएको निर्वाचनबाट चुनिएकाहरुलाई औपचारिक कार्यक्रमबीच प्रमाणपत्र र पदभार ग्रहण गराइएको हो । निर्वाचन अधिकृत मित्रलाल सापकोटाको अध्यक्षता भएको कार्यक्रममा खजुरा गापा वडा नम्बर ३ अध्यक्ष कान्तुराम गौतमले संस्था बचाउन उपभोक्तालाई दिने सेवामा स्तरियता ल्याउनुपर्ने बताए ।


संस्थाका संस्थापक अध्यक्ष उत्तमराज घिमिरे, पूर्व अध्यक्षहरु रमेश सिजाली, वेदनिधी प्याकुरेल, निवर्तमान अध्यक्ष दिपक ढकाल , सल्लाहकारहरु लगायत सत्ता गठबन्धन र प्रतिपक्ष गरि पाँच राजनिती दलका प्रतिनिधिको उपस्थितिमा गरिएको पदभार हस्तान्तरण कार्यक्रममा संस्थापक अध्यक्ष घिमिरे, पूर्व अध्यक्ष सिजाली, निवर्तमान अध्यक्ष ढकाललगायतले धारणा राखेका थिए ।


निवर्तमान अध्यक्ष ढकालले आफ्नो कार्यकालमा सदस्यहरुले बैठक बस्न सम्म पनि समय नदिएको, पटकपटक कोरम नै नपुगेर बैठक बस्न नसकेको र काम गर्न निकै कष्टकर भएको गुनासो पोखे । कार्यक्रममा बोल्दै वडाअध्यक्ष गौतमले आफू तीन महिनाको मात्रै अध्यक्ष रहेको भएता पनि खजुराको विकास र खानेपानीको विकासलाई सधैं सहयोग गर्ने बताए । उनले क्यान्सर अस्पताल बनाउन खजुरेली जनता एक पार्टी भएको सम्झना गर्दै त्यस्तो योगदान गर्नेलाई सम्मान गर्नुपर्ने बताए ।


यसैबीच, नवनिर्वाचित समितिका अध्यक्ष नोक बहादुर गोदारलाई निर्वाचन समितिको तर्फबाट संयोजक मित्रलाल सापकोटाले सोमवारनै खानेपानीको कार्यशैली र निर्वाचन सुधार सम्बन्धमा सुझाव पत्र बुझाएका छन् ।

माघ २९ मा भएको निर्वाचनबाट खजुरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्वमा नोक बहादुर गोदार निर्वाचित भएका छन् । काँग्रेस सम्बद्ध उनको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले बहुमत सहित खानेपानीको आगामी नेतृत्व पाएको हो ।

दलगत रुपमा छुट्टछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका उपभोक्ताहरुमा काँग्रेस निकट गोदारले ३ सय ३३ मत प्राप्त गरी विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी सतिश निरौलाले २६९ मत प्राप्त गर्न सफल भएको निर्वाचन समितिका संयोजक मित्रलाल सापकोटाले जानकारी दिए ।

उपाध्यक्षमा श्रवणध्वज खड्का, सचिव मदन सुनार र कोषाध्यक्षमा गीता सापकोटाले विजयी भएका छन् । उपाध्यक्ष खड्का काँग्रेस र सचिव सुनार तथा कोषाध्यक्ष सापकोटा माओवादी सम्बद्ध हुन् । महिला सदस्यमा पम्फा तिवारी, प्रेम बहादुर बुढाथोकी, लक्ष्मण कार्की, तोजेन्द्र विक, भक्त बहादुर गोदार, गोपाल थापा र सुधिर कुमार शुक्ल विजयी भएका छन् । सदस्य निर्वाचित ३ जना एमाले सम्बद्ध प्यानलबाट विजयी भएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया