रोल्पामा पहिलो पटक मुख्यमन्त्री

‘सन्तुलित विकासमा बजेट विनियोजन’


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सन्तुलित विकासमा बजेट खर्च गर्ने गरी प्रदेश सरकार अघि बढेको बताएका छन् । मुख्यमन्त्री भएपछि पहिलो पटक रोल्पा पुगेका उनले प्रदेशले पालिका, जिल्ला र निर्वाचन क्षेत्रस्तरमा बजेट विनियोजन गरेर सन्तुलित विकासको मोडल अघि बढाएको बताएका हुन् ।


रोल्पा सदरमुकाम लिवाङमा जिल्ला समन्वय समितिले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिसंगको अन्तरक्रियामा बोल्दै उनले चालु आर्थिक वर्षको बजेटमा प्रत्येक पालिकामा खेल मैदान र बहुउद्देश्यीय भवन बन्ने गरी बजेट विनियोजन गरेको जानकारी दिएका थिए । उनले आगामी आर्थिक वर्षको बजेट राम्रो नतिजा दिने ढंगको आउने स्पष्ट पारे ।
मुख्यमन्त्री पोखरेलले देशको आवधिक योजना तयार भएको र आगामी वर्षको बजेट यही आवधिक योजनाले तय गरेको प्राथमिकताका आधारमा आउने बताए । स्थानीय तहलाई पनि आवधिक योजना बनाएर अघि बढ्न र बजेट छर्ने भन्दा नतिजा दिने हिसाबले विनियोजन गरेर अिघ बढ्न उनले आग्रह गरे ।


‘समपुरक अनुदान अन्तर्गत बजेट विनियोजन गरे अघि बढ्नुस, त्यसो गर्दा तपाईहरुले जति पैसा त्यसमा राख्नुहुन्छ, त्यत्ति नै प्रदेश सरकारले दिन्छ,’ उनले भने, ‘चालु आर्थिक वर्षको बजेट बनाउँदा कतिपय पालिकाले यतातिर ध्यान नदिदा समपुरक अन्तर्गत पाउनुपर्ने बजेट पाउन सकेनन् ।’ उनले प्रदेशको गौरवको आयोजना पाल्पा—रोल्पा सडकले रोल्पाको पहुँचलाई अझ बढाउने बताए ।


‘यो सडक कालीगण्डकी करिडोरबाट सुरु भएर राप्ती राजमार्गमा अन्त्य हुन्छ । रोल्पाको धेरै गाउँ भएर अघि बढ्छ, यो सडकबाट रोल्पाले धेरै फाइदा पाउँछ’, मुख्यमन्त्री पोखरेलले भने । उनले रोल्पाको चुनवाङबाट पूर्वी रुकुमको सदरमुकाम जोड्ने सडक प्राथमिकतामा परेको र शहिद मार्ग स्तरोन्नतीलाई पनि प्राथमिकतामा पारिने बताए ।


मुख्यमन्त्री पोखरेलले अहिले स्थानीय तहले कर्मचारी अभाव झेलिरहेको जानकार रहेको भन्दै प्रदेश लोकसेवा विधेयक छिट्टै पारित हुने र प्रदेश लोकसेवा आयोग गठनपछि कर्मचारी पूर्तिको बाटो खुल्ने बताएका थिए । उनले रिक्त शिक्षक केन्द्र सरकारले करारमा नियुक्त गर्ने काम गलत भएको र रिक्त शिक्षक नियुक्तिको काम पालिकालाई दिनुपर्ने बताए । तपाईहरुको यो मागसंग प्रदेश सरकार साथमा छ’, उनले भने । शिक्षक सेवा आयोगले प्रक्रियागत रुपमा काम अघि बढाएर नियुक्ति गर्ने हो भने ठिकै भएपनि सिधै केन्द्र सरकारले करारमा नियुक्ति गर्ने काम बेठिक भएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा ७ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुन लागेकोले यो मुलुकका लागि सुखद पक्ष भएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनले आर्थिक सुचकाङ्कमा औसत रहेको प्रदेश पाँच चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सबैभन्दा उच्च भएको हाम्रो प्रदेशका लागि खुशीको कुरा भएको बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया