नरैनापुर पछि कोहलपुरमा आज सभा, सत्तारुढ दलको आलोचना
पार्टी भित्र तिब्र संघर्ष चलाइरहेको प्रमुख प्रतिपक्ष, नेपाली कांग्रेस जिल्लामा सक्रिय भएको छ । गाउँ वस्ती पुगेर पार्टीको आन्तरिक स्पर्धादेखि सरकारको आलोचनामा सक्रिय काँग्रेस नेताहरुले शनिवार बाँकेको दुर्गम बस्ती नरैनापुरमा सभा गरेका हुन् । आज आइतवार कोहलपुरमा सभा गर्न लागेका काँग्रेस नेताहरुले सत्तारुढ दलहरुको पनि चर्काे आलोचना गरेका छन् ।
नेता डा. शेखर कोइराला, पूर्वमन्त्री सन्जय गौतम, अमरेश सिंह, मो. आफताव आलम, बाँके पार्टी सभापति किरण कोइराला लगायतका नेताले नरैनापुरको गंगापुर, कटकुइया लगायतमा सम्बोधन गरेका हुन् । उनीहरुले मधेसको राष्ट्रियताको विषयमा नेपाली कांग्रेसलाई कुनै शंका नरहेको बताएका छन् ।
पार्टी नेता कोइरालाले वर्तमान सरकार अलोकतान्त्रिक हँुदै गएको भन्दै ‘कम्युनिष्ट सरकारमा लोकतान्त्रिक चरित्र नहुने’ आरोप लगाए । ‘विगतमा भएका कमी कमजोरी हामी अब दोहोरिन दिदैनौं,’ नेता कोइरालाले भने ‘कांग्रेसले मधेसको मुद्दालाई पहिलेदेखि उठाउँदै आएको छ, अझैपनि मधेसको पक्षमा वकालत गर्छौ ।’ उनले नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरमले मधेसका जनतालाई दास बनाइरहेको आरोप समेत लगाए ।
शनिवार नै कटकुईयामा काँग्रेस नेताहरुले कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । भेलामा नेपाली कांग्रेस बर्दियाका सभापति तथा पुर्व सिंचाइ मन्त्री सञ्न्जय गौतमले मुलुकको विकासमा नेपाली कांग्रेसको योगदान ठुलो रहेको बताए । नेपाली कांग्रेसका लागि मधेसी जनताले ठुलो त्याग, तपस्या गरेको उनको भनाइ थियो । नेता आलमले नेपाली कांग्रेस सबै जाती, भाषा, धर्मलाई समान ब्यवहार गर्ने पार्टी भएको बताए ।