आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । यस अवसरमा यस वर्ष काठमाडौंको खुलामञ्चमा मूल समारोह तथा भूकम्प सुरक्षा सम्बन्धी प्रदर्शनी आयोजना गरिएको छ ।

दिवसको अवसरमा आज दिउँसो ठीक २ बजेर २४ मिनेटमा सञ्चार माध्यममा एकसाथ बज्ने धुनसँगै एक मिनेटको राष्ट्रिय भूकम्पीय सुरक्षा अभ्यास पनि गरिँदैछ । नागरिकलाई भूकम्पका बेला अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे सचेत गराउने उद्देश्यले यो अभ्यास सञ्चालन गर्न लागिएको हो ।
वि.सं. १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ बजेर २४ मिनेटमा गएको ८.४ म्याग्निच्युडको भूकम्पले देशमा ठूलो जनधनको क्षति पुर्याएको थियो । सो भूकम्पमा परी ८ हजार ८१९ जनाको ज्यान गएको थियो भने करिब ८० हजार घर पूर्ण रूपमा ध्वस्त भएका थिए । घर, विद्यालय, देवालय, पार्टीपौवा तथा अन्य सार्वजनिक भवन गरी कुल २ लाख ७ हजार २४८ संरचना भत्किएका थिए ।
यसैगरी, वि.सं. २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पमा ८ हजार ६७० जनाको मृत्यु हुनुका साथै ७ लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो ।
भूकम्पबाट हुने जोखिम न्यूनीकरण, जनचेतना अभिवृद्धि र पूर्वतयारीलाई प्रभावकारी बनाउने उद्देश्यले हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।











