सडकमा चौपायाको राज र नगरको असमर्थता

नेपालगन्ज र कोहलपुर, दुबै बाँके जिल्लाका महत्वपूर्ण सहरहरू हुन् । तर यी दुई सहरको भिन्न तस्वीर अहिले चर्चा र चिन्ताको विषय बनेको छ । कोहलपुर चौराहामा वन्यजन्तुको आकर्षक मूर्ति राखेर सौन्दर्यीकरण र पर्यटन प्रवद्र्धनतर्फ नगरको ध्यान देखिन्छ । अर्कोतर्फ, नेपालगन्जका सडकमा भने छाडा चौपायाले ‘राज’ गरिरहेका छन् । यी दृश्यले एउटै जिल्लाको दुई फरक अनुहार उजागर गरेका छन् । एउटा आशाको र अर्को अव्यवस्थाको । यो अवस्थाले पटक्कै उत्साह भर्दैन नेपालगन्जवासीमा ।

नेपालगन्जका मुख्य चोकहरू — त्रिभुवन, धम्बोझी, बिपी, गणेशमान लगायत —मा खुलेआम चौपाया हिँड्दा जनजीवन अस्तव्यस्त भएको छ। घोडा, गाई, गोरु र खच्चरको भीड सडकमा देखिनु कुनै नौलो कुरा रहेन । वर्षा लागेपछि त यी चौपाया सडकलाई अस्थायी आश्रयस्थल बनाउँछन्, जसले सवारी साधन चलाउनेहरू र पैदल यात्रु दुवैलाई जोखिममा पार्छ । स्थानीयहरू डर, असहजता र आक्रोश व्यक्त गर्छन् —व्यापारीहरू ग्राहक नफर्कने गुनासो गर्छन् भने सर्वसाधारण दुर्घटनाको डरमा छन् । कयौं व्यक्ति दुर्घटनाका पीडित पनि भएका छन् ।

यता, नगर सरकार समाधान खोज्ने भन्छ, तर ‘काञ्जी हाउस’ जस्तो संरचना हुँदाहुँदै पनि प्रभावकारी व्यवस्थापन नहुनु आफैमा गम्भीर कमजोरी हो । यसले स्थानीय सरकारको योजनाविहीनता र प्रतिबद्धताको अभाव देखाउँछ । यो अवस्था रहिरहनु हुँदैन ।

नेपालगन्ज, जसको ऐतिहासिक, व्यापारिक र सांस्कृतिक महत्व छ, यस्तो अराजकतामा फँस्नु दुःखद छ । यसको प्रत्यक्ष असर नगरको छवि, पर्यटकको रुचि र स्थानीय जनताको दैनिकीमा पर्छ । यस्तो अवस्थाले न त सहरको विकास सम्भव हुन्छ, न त नागरिकको जीवनस्तरमा सुधार आउँछ ।

कोहलपुरको मूर्तिले सन्देश दिइरहेको छ—सौन्दर्य र व्यवस्थापन सम्भव छ । नेपालगन्जले पनि यसखालका अभ्यासमा आफु्लाई रुपान्तरण आवश्यक छ, यसखालको बाटो लिन जरुरी छ । चौपाया व्यवस्थापन कुनै सजिलो काम होइन, तर असम्भव पनि होइन । इच्छाशक्ति, योजना र कार्यान्वयनको समन्वय भयो भने सहरको सडक चौपायाको होइन, नागरिकको हुनसक्छ । नेपालगन्ज अब जाग्नैपर्छ । सडकबाट ‘साँडेको राज’ अन्त हुनुपर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया