ज्येष्ठ नागरिकहरूको सहयोगको लागि एक महत्वपूर्ण कदम स्वरूप, पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेन ले आज सम्मानजनक वृद्धावस्थाको प्रवद्र्धन गर्ने पहलमा सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

इन्क्रेडिबल माउन्टेन प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक श्री उमेश सुवेदी र पुस्तान्तरण नेपालका कार्यालय प्रबन्धक श्री त्रिलोचन सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
यस सम्झौता अनुसार, इन्क्रेडिबल माउन्टेन प्राइभेट लिमिटेडले आफ्ना कुल नाफाको २ प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस्तान्तरण नेपालको स्वास्थ्य, समावेशीकरण, क्षमता विकास तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूमा सहयोग गर्नेछ। साथै, दुवै संस्थाले ज्येष्ठ नागरिकहरूका लागि विशेष भ्रमण प्याकेजहरू र ‘गरिमामय बृद्ध अवस्था’ प्रवर्द्धनका लागि फन्डरेजिङ ट्रेकसमेत संयुक्त रूपमा आयोजना गर्नेछन्।
यस साझेदारीले संयुक्त जनचेतना अभिवृद्धि कार्यक्रम, क्षमता विकासका गतिविधि र ज्येष्ठ नागरिकहरूको जीवनस्तर सुधारका लागि आवश्यक संरचनात्मक सहयोगलाई पनि समेट्नेछ ।

पुस्तान्तरण नेपालले नेपालमा सम्मानजनक वृद्धावस्था सुनिश्चित गर्न तथा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य र मनोसामाजिक सेवासहित विभिन्न सहयोग प्रदान गर्दै आएको छ । यस्तो सहकार्यबाट पुस्तान्तरण नेपालले झन बढी आवश्यकतामा रहेका समुदायहरूलाई सेवा दिन सक्षम हुने विश्वास गरिएको छ ।