
बंगलादेशको राजधानी ढाकामा पुनः हिंसा मच्चिएको छ । आवामी लिगले आयोजना गरेको विरोध प्रदर्शनअघि हिंसा भड्किएको हो ।
बुधबार राति प्रदर्शनकारीहरूले बङ्गलादेशका संस्थापक शेख मुजिबर रहमानको ढाका स्थित घर तोडफोड गर्दै आगजनी गरेका छन्।
शेख हसीनाका आफन्त शेख सोहेल र शेख जेवेलका घरहरूमा पनि बुलडोजर लगाएर भत्काइएका स्थानीय मिडियाहरूले खबर लेखेका छन्।
हिंसा मच्चिएपछि पूर्वप्रधानमन्त्री शेख हसिनाले इतिहास मेटाउन नसकिने र समयले बदला लिने चेतावनी दिएकी छन् ।
उनले भनेकी छन्, ‘एउटा घरसँग किन डराएको ? म बंगलादेशको जनताको लागि न्याय चाहन्छु । के मैले मेरो देशको लागि केही गरिनँ ? फेरि यति धेरै अपमान किन ? एउटा घर भत्काउन सकिन्छ तर इतिहास मेट्न सकिन्न । मेरो पिताको घर भत्काउनेले याद राखून्- इतिहास बदलिन्छ ।’
किन भड्कियो हिंसा ?
आवामी लिगले ६ फेब्रुअरी अर्थात् आजका लागि देशव्यापी प्रदर्शनको आह्वान गरेको थियो । लिगले प्रस्ताव गरेको देशव्यापी विरोध प्रदर्शनको पहिला नै कैयौं सहरमा बुधबार राति हिंसा भड्किएको हो ।
विद्यार्थी संगठन ‘२४ रिभोल्युसनरी स्टुडेन्ट- जनता’ले ‘बुलडोजर मार्च’ निकाल्ने घोषणा गरेपछि हिंसा सुरु भएको हो। प्रदर्शनकारीहरू ‘शेख हसिनालाई फाँसी दे’ भन्दै नारा लगाइरहेका थिए।

आन्दोलन चर्किएसँगै ५ अगस्ट २०२४ मा शेख हसिना देश छाडेर भारत गएकी थिइन् । विद्यार्थी आन्दोलनपछि उनको सरकार ढालेर अन्तरिम सरकार बनाइएको थियो।
नयाँ सरकारले हसीनामाथि देशद्रोह, हत्या, अपहरण लगायत २२५ मुद्दा लगाएको छ। उनको पासपोर्ट रद्द गरिएको छ भने गिरफ्तारी वारन्ट जारी पनि जारी गरिएको छ ।
बङ्गलादेशले भारतलाई हसिनालाई डिपोर्ट गर्न अनुरोध गरेको छ, तर भारतले उनको भिसा अवधि बढाइसकेको छ।
हसिनाका विरोधीहरुले बंगलादेशमा अशान्ति फैलाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
बंगलादेशमा मच्चिइरहेको यो हिंसालाई सामाजिक सञ्जालमा ‘बुलडोजर जुलुस’ भनिएको छ । प्रदर्शनकारीहरूले हमला गरिरहँदा त्यहाँ सुरक्षाकर्मी पनि तैनाथ थिए । भिडलाई यी कामबाट रोक्न सुरक्षाकर्मीले गरेको सम्झाउने प्रयास असफल भएको सञ्चारमाध्यमहरूले लेखेका छन् ।
केही प्रदर्शनकारी शेख मुजिबर रहमानको घर र संग्रहालयमा घुसेर तोडफोड र आगजनी गरेका हुन् । यसका तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
शेख मुजिबर रहमान बंगलादेशका संस्थापक एवम् शेख हसिनाका बुवा हुन् ।
हसिनाले समर्थकलाई अनलाइनबाट सम्बोधन गर्ने तयारी थियो
हसिना नेतृत्वको आवामी लिग पार्टीले ६ फेब्रुअरीबाट आफ्ना कार्यकर्तालाई सडकमा उत्रन अपिल गरेको थियो ।
