प्रहरीले गढीमाई मेलास्थलबाट दुई थान पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ ।
आइतबार साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमरजितकुमार सहनीलाई दुई थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।
गढीमाई मेलास्थलमा हतियार देखाउँदै झै–झगडा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक दीपेन्द्र मल्लको टोलीले सहनीलाई पक्राउ गरेको हो ।
प्रहरीले सहनीका साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।
बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा झिकाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
जिल्लामा बरहथवा, हरिपुर, कबिलासी, रामनगर र बलरामा गरेर करिब आधा दर्जन स्थानमा गढीमाई मेला लागिरहेको छ ।