‘मोबाइल फुड ल्याब’ सक्रिय

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो समय मोबाइल खाद्य प्रयोगशाला भ्यान (मोबाइल फुड ल्याब) सक्रिय बनाइरहेको छ ।

६ वर्षदेखि थन्केर बसेको मोबाइल फुड ल्याब १६ असोजदेखि सञ्चालनमा आएको हो । खाद्यजन्य पदार्थको स्थलगत अनुगमन गर्न खरिद गरिएको ‘वेल इक्विपमेन्ट ल्याबोरेटोरी मोबाइल भ्यान’ सञ्चालनमा आएपछि उपत्यकामा धमाधम अनुगमन भइरहेको छ ।

२५ कात्तिकमा विभागले मोबाइल फुड भ्यानमार्फत काठमाडौं उपत्यकाको प्रवेश बिन्दु जगातीमा दूध परीक्षण गरेको थियो । उपत्यका भित्रिने खाद्य पदार्थको छड्के निरीक्षण, परीक्षण गर्न टोली नै विभागले खटाएको छ ।

काठमाडौं भित्रिने दूधमा समस्या छ भन्ने गुनासोका आधारमा परीक्षण भएको थियो । मोबाइल फुड ल्याबले भक्तपुर चुनदेवीबाट ल्याइएको २ सय ८० लिटर र साँगाबाट ल्याइएको ३ सय ६० लिटर, काभ्रे बनेपाका स्थानीय किसानबाट संकलित ८ सय लिटर, बनेपा बुडवलबाट संकलित १ सय २५ लिटर दूधमा सोडा, चिनी, युरिया र स्टार्च जस्ता वाह्य पदार्थ परीक्षण गरेको थियो । जहाँ सबै दूध स्वच्छ पाइएको थियो ।

त्यसअघि मोबाइल फुड ल्याब प्रयोग गरेर उपत्यकाका विभिन्न मिठाई पसल, खाद्य स्टोर, होटल तथा रेस्टुरेन्टमा परीक्षण गरिएको थियो ।

चाडपर्वमा मात्रै ३२ परीक्षण

चाडपर्व लक्षित गरी २३ असोजदेखि १२ कात्तिकसम्म मोवाइल फुड ल्याबले ३२ पटक खाद्य उद्योग तथा व्यवसाय निरीक्षण अनुगमन गरेर कारबाही गरेको छ ।

तीमध्ये आठपटक खाद्य उद्योग र २४ पटक खाद्य व्यवसाय, होटल, रेस्टुरेन्ट निरीक्षण अनुगमन गरिएको थियो । मोबाइल खाद्य प्रयोगशाला भ्यानमा मिठाईका ३८, प्रशोधित दूधका १२, खाने तेल १२, प्रशोधित पिउने पानी १२, घिउ ९, पेय पदार्थ २, मह २ र नुनको १ गरी विभिन्न खाद्य पदार्थका ८८ नमुनाको स्थलगत प्रारम्भिक जाँच गरिएको थियो ।

तिनमा कैफियत पाइएका ८ खाद्य व्यवसायमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

उक्त अवधिमा मोबाइल फुड भ्यानबाहेक ३ सय १२ खाद्य उद्योग, व्यवसाय निरीक्षण अनुगमन गरी कारबाही भएको छ । जसमध्ये १ सय ५ खाद्य बजार, १ सय ५ खाद्य उद्योग र १ सय २ होटल तथा रेस्टुरेन्ट निरीक्षण अनुगमन गरिएको विभागले जनाएको छ ।

विभागले देशैभरिबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम ३९ र खाद्य स्वच्छता सर्भिलेन्सका लागि ६१ गरी १ सय खाद्य पदार्थका नमुना संकलन गरेर अनुसन्धान गरिरहेको छ ।

दशैं र तिहार बीचमा मात्रै खाद्यले उपभोग्य मिति समाप्त भएका, पूर्ण लेबल विवरण नभएका र खाद्य अनुमतिपत्र नलिएका करिब ४ लाख ४४ हजार रुपैयाँ बराबर खाद्य पदार्थ जफत तथा नष्ट गरेको थियो ।

विभागले प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत किनेका दुइटा मोबाइल फुड ल्याब भ्यान पनि मर्मत भइरहेको भन्दै छिट्टै सञ्चालन तयारी गरेको छ ।

मोबाइल फुड ल्याबले बनायो सजिलो

विभाग प्रवक्ता महर्जनले पछिल्लो समय मोबाइल फुड ल्याबका कारण काठमाडौं उपत्यकामा छड्के परीक्षण गर्न, अनुगमन गर्न सजिलो भएको बताए ।

‘पहिले, पहिले नमुना संकलन गरेर कार्यालय ल्याएर २/३ दिन रिपोर्ट कुरेर फेरि पसल गएर कारबाही प्रक्रिया अगाडि बढाउनुपथ्र्यो तर अहिले मोबाइल फुड ल्याब प्रयोग गरेर तत्कालै कारबाही अगाडि बढाउन पाइएको छ,’ महर्जनले अनलाइनखबरसँग भने, ‘तत्कालै एक्सन लिँदा व्यवसायी पनि सजग भएका छन् ।’

प्रतिक्रिया

प्रतिक्रिया