हेलिकप्टरले देख्दैन पैदल हिँड्नेको चोट

 काभ्रेको भकुण्डेबेसी र मंगलटार आसपासको आकाशबाट पटक–पटक सेनाको हेलिकप्टर आउ–जाउ गरिरहन्छ ।

तर, वीपी राजमार्गमा भोकै खाली खुट्टा हिँडिरहेका अलपत्र यात्रुहरुका लागि ती हेलिकप्टर आकाशतिर हेर्नका लाग मात्रै भएको छ ।

काठमाडौंबाट पूर्वका विभिन्न जिल्लातर्फ गएकाहरुले शुक्रबार बाढी पहिरोले राजमार्ग अवरुद्ध गरेपछि २ दिन उद्धार हुने आशामा बिताएका । तर, आइतबार वर्षा रोकिएर मौसम सफा भइसक्दा पनि सरकार उद्धारका लागि पुगेन ।

त्यसपछि उनीहरु ब्याग र झिटीगुण्टा बोकेर काठमाडौंतर्फ हिँडे । उनीहरुको टाउको माथिबाट पटक–पटक फन्को मार्ने नेपाली सेनाका हेलकप्टरमा केही यात्रुको उद्धार त भएको छ, तर धेरै यात्रुका लागि ती हेलिकप्टरहरु आकाशको फलजसतै बनेका छन् ।

सरकारले बढी समस्यामा परेका यात्रीलाई हेलिकप्टेरमार्फत उद्धार गरेको भनेको छ । तर, यो यात्रामा हिँडिरहेकालाई थाहा छ, यहाँ समस्या नपरेका र जोखिममुक्त को छन् र ?

पहिरो, हिलाम्ये सडक, घामे तातेको पिच छिचोल्दै २ दिनसम्म हिँड्दा पनि उनीहरुले गन्तब्यमा पुग्न कति समय लाग्छ भन्ने भेउ पाउन सकेका छैनन् ।

कष्टकर यात्राले कतिपय यात्रुको खुट्टा चोटग्रस्त भइसकेका छन् । कोही बिरामी परिसकेका छन्, कोही थाकेर पाइला सार्न समेत पीडा भोगिरहेका छन् ।

कतिपय यात्रु खुट्टामा ब्यान्डेज बाँधेर रगत बगिरहेको खुट्टाकै साहारमा हिलो र तातो पिच सहँदै लम्किरहेका छन् ।

घाउको दुखाइ सहन नसके र लम्किन नसके समूहबाट पछि पर्ने अवस्था छ । बलिया युवालाई पनि सकसमा परिसकेको यो पैदल यात्रामा वृद्ध उमेरदेखि बच्चाहरुसम्म छन् । एकले अर्कोलाई सहारा ठान्नुबाहेक यहाँ अरु विकल्प र साथि छैनन् ।

जोखिमले भरिएको यो यात्रामा कमजोरहरुलाई थाक्ने छुट छैन । त्यसैले त ठूलो भारी बोकर पनि आशा बोकेर हिँडिरहेकाहरुलाई बेला–बेलामा आकाशबाट ठूलो आवाजसहित उड्ने हेलिकप्टर देख्दायो देशमा सरकार पनि छ भन्ने सम्झना आउँछ ।

तर, आकाशबाट हेलिकप्टरले न उनीहरुको खुट्टाको घाउ देख्छ न, उनीहरुको दुःख बुझेर गन्तव्यमा पुर्‍याउने गरी जमिनमा ओर्लिन्छ ।

४ दिनसम्म अपपत्र छाडेर सरकारले गरेको बेवास्ताबारे गुनासो गर्न समेत यात्रुसँग अरु कोही छैनन् । उनीहरु बेसहारा भएर यात्रामा छन् ।

प्रतिक्रिया

प्रतिक्रिया