संकटमा जलसभ्यता

सडक, ढल, जथाभावी गरिएको उत्खनन् र मानवीय अतिक्रमणका कारण कालीगण्डकी (कालीगंगा) को जलसभ्यता सङ्कटमा पर्दै जान थालेको छ । धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको उचित व्यवस्थापन र संरक्षण नहुँदा जलसभ्यता संकटमा पर्न थालेको हो ।

पवित्र कालीगण्डकी नदीको प्राकृतिक रूप पछिल्ला केही वर्षयता नासिँदै गएको छभने गंगाजल (नदीको पानी) पनि प्रदूषित हुँदै गएपछि नदीको निर्मलस्वरुप संकटमा परेको सरोकार भएकाहरुले बताएका छन् । मुस्ताङको सदरमुकाम जोमसोमबाट म्याग्दीको सदरमुकाम बेनी हुँदै गुल्मीको रिडीसम्म पुग्दा कालीगण्डकीको निर्मल जलमा सहरबजारका ढल मिसाइँदा गङ्गाजल प्रदूषित बन्दै गएको कालीगण्डकी बचाऔं अभियानका अभियन्ता सागरजीवी उपाध्यायले बताए।

बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला खण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, ग्रेगर तथा बर्सेनि आउने बाढीपहिरोका कारण् पवित्र नदीको मौलिक स्वरुपमा परिवर्तन आएको वातावरण संरक्षणकर्मीहरुले बताएका छन् ।

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर खण्डको विभिन्न ठाउँमा पहिरो गएर साँघुरो भएपछि सडक विस्तार गर्ने नाममा त्यहाँका ढुंगा र ग्रेगरहरु कालीगण्डकीमा खसाल्ने गरिएकाले नदी प्रदूषित बन्दै गएको अभियन्ता उपाध्यायले उल्लेख गरे । डोजर र स्काभेटरले जथाभावी उत्खनन् गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली खल्बलिँदै गएको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया