बास नेपाल र ब्राइटल्याण्ड स्कुल नेपालगन्जले प्रदान गर्दै आएको ‘युवा पुरस्कार’ यस वर्ष सुनिल परियारलाई प्रदान गरिएका छ ।
मानवीय कार्यमा सक्रिय युवा परियारलाई सोमवार युवा दिवस पारेर उक्त पुरस्कार प्रदान गरिएको हो ।
बास नेपाल र ब्राइटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार यस बर्ष परियारले प्राप्त गर्न सफल भएका हुन् ।
युवा दिवसको अवसरमा नेपालगन्जमा भएको एक औपचारीक कार्यक्रमका बिच ब्लड डोनेसन ग्रुप (बाँके) का सञ्चालक समेत रहेका परियारले सम्मान पत्र, ट्रफि सहित नगद १५ हजार प्रदान गरिएको बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि, प्रदेश सभा सदस्य रत्न खत्रीले उक्त सम्मान हस्तान्तरण गरेका हुन् ।
युवाका क्षेत्रमा कार्यरत रहेको, रचनात्मक कार्य, सृजनात्मक कार्यमा योगदान दिएको, सामाजिक योगदान, सँघर्ष पश्चातको सफलता, प्रेरक व्यक्तित्व लगायतको सुचकका आधारमा परियारलाई छनौट गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । कार्यकारी निर्देशक शाहले बास÷ब्राईटल्याण्ड युवा पुरस्कारको पृष्ठभूमि, कार्यक्रमको उद्धेश्यसँगै बास÷ब्राइटल्याण्ड युवा पुरस्कार २०२४ को घोषणा गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा बस्दै आएका परियारले कोभिडको दोश्रो लहर शुरु हुँदा नेपालगन्ज ग्यालरीको प्रभावमा रगतको अभाव परिपूर्ति गर्न २०२० जुलाई २० मा ब्लड डोनेसन ग्रुप बाँके खोलेको बासले जनाएको छ ।
रक्तदान कार्यक्रम नगरि बिरामीहरुलाई आवश्यक भएको बेला ग्रुपमा रगत दिने गरेको बताउँदै हाल सम्म उनको सक्रियतामा सञ्चालित ग्रुपमा १० हजार २ सय १७ सदस्य रहेको र उक्त ग्रुप मार्फत १ हजार २ सय ८१ प्रिन्ट रक्तदान गरिसकेका छन् ।
सूचना अधिकारी भट्टका अनुसार, सन् २०११ देखि बास युवा पुरस्कारको नामले शुरु गरेको पुरस्कारमा २०१२ देखि ब्राइटल्याण्ड स्कुल नेपालगन्जले सहकार्य गर्दै आएको छ । यो पुरस्कार २०११ मा क्रिकेटर बिनु बुढा मगर, २०१२ मा पत्रकार भेषराज बस्नेत, २०१३ मा कलाकार प्रशान्त के.सी., २०१४ मा शैक्षिक उद्यमी किशोर मल्ल, २०१५ मा कलाकार राज बहादुर साने, २०१६ मा मुस्लिम युवा अभियन्ता शवनम प्रबिन, २०१७ मा हरित अभियन्ता हेमन्तराज काफ्ले, २०१८ मा लागु औषध अभियन्ता अभिराज क्षेत्री, २०१९ मा पत्रकार कमल खत्री, २०२१ मा युवा अभियन्ता आशिष बर्मा, २०२२ मा निल सागर सेवाश्रमका अध्यक्ष सरिता खनाल र २०२३ मा युवा बिनोद थापालाई प्रदान गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका निबर्तमान सामाजिक बिकास मन्त्री रत्न खत्रीले तीन वटै तहका सरकारलाई यूवा मैत्री बनाउनु पर्ने बताए ।
राज्यले युवाको मनोभावना अनुसार काम गर्नुपर्ने बताउँदै युवाहरुले मात्रै देश बनाउन सक्ने उनले बताए । डिजिटल प्रविधिको सदुपयोग गर्न युवाहरुलाई अनुरोध गर्दै माननीय खत्रीले बदलिएको दुनीयामा सबै बदलीएर काम गर्नुपर्नेमा जोड दिए । आफु सामाजिक मन्त्रीको जिम्मेवारीमा रहेका बेला बाँके बाट प्राप्त युवाहरुका मागहरु सम्बोधन गर्ने गरी केही नीति तथा कार्यक्रम पास गरेको उनले बताए ।
बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा आयोजक संस्थाहरुको तर्फबाट बास नेपालका अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश गैसस महासँघ बाँकेका सदस्य राजन बर्माले गरेका थिए भने डिजिटल प्रविधिमा युवाका बिषयमा भायोनेटका लुम्बिनी प्रदेश संयोजक भानु रेग्मीले प्रस्तुतीकरण गरेका थिए । भने सो बिषयमा युवाहरुका बिचमा खुल्ला छलफल गरिएको थियो ।