नाका छलेर भण्डार गरिएको ३८ लाखको सामान बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आ.व.को जेठ महिनामा मात्रै १ करोड १७ लाख ३१ हजार ८ सय ९० रूपैयाँ बराबरको अवैध रूपमा भारतबाट भित्र्याइएको मालसामान बरामद गरेको छ ।

नाकामा ठाउँमा चेकजाँच हुने गरेको छ, खुला नाका भएपछि विभिन्न ठाउँका पोष्टहरूबाट टाढा टाढासम्म मानिसहरूको आवतजावत देख्न सक्ने स्थिति रहेको छ । त्यति हुँदा हुँदै पनि भन्सार छली गरेर भित्रिएका अधिकांस मालसामान नेपालगन्ज बजार क्षेत्रबाट बरामद हुने गरेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले पटकपटक भन्सार कडाईको माग उठाउँदै आएको छ । नेपाली व्यवसायीहरू खुला सीमाका कारण भित्रिने मालसामानका कारण धराशयी भैरहेको गुनासो औपचारिक कार्यक्रमहरूमा उठाउँदा पनि त्यसतर्फ ठोस कदम भने चालिएको पाइँदैन । भन्सारको मुख्य नाकाबाट मात्रै दैनिक करोडौंको मालसामान भित्रिने गरेको तथ्यांक नेपालगन्ज उद्योग वाणिज्य संघले सार्वजनिक गरेको छ ।

नेपालगन्ज भन्सारले लक्ष्य अनुसार भन्सार राजश्व संकलन गर्न नसकिरहेको अवस्थामा समेत राजश्व संकलन बढाउन कडाई नहुँदा खुला नाकाबाट निर्बाध झै बीना भन्सार मालसामान भित्रिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगी प्रहरीले निगरानी राखेर अवैध भित्रएको मालसामान फेला पारी भन्सारमा बुझाउँदै आएको बताउँछन् । ‘ठाउँठाउँमा चेकजाँच छ तर पनि मालसामान भित्रिरहेका छन्’, उनले भने ।

बाँके प्रहरी प्रवक्ता डाँगीले सोमबार अवैध रूपमा भित्र्याएर भण्डारण गरेको ३८ लाख बढीको मालसामान बरामद गरी आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार दाखिला गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छली भण्डारण गरि राखेको लत्ता कपडा नेपालगन्जको वडा नं. २ स्थित एक घरबाट बरामद गरेको हो ।

बाँके प्रहरीले न्यूरोड भानुभक्त चोक स्थित सोनी गुप्ताले आफ्नै घरमा भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइ भण्डारण गरी राखेको ३८ लाख ३९ हजार २ सय बराबरको मालासमान बरामद गरेको बताएको छ । प्रहरीले कुर्ता सुरुवाल ४ हजार २ सय ७४ पिस, साडी ८ सय ४० पिस बरामद गरेको जानकारी दिएको छ ।
लागुऔषध सहित दुई पक्राउ

बाँके प्रहरीले हवल्दारपुरबाट ठूलो परिणाममा लागुऔषध बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जाजरकोटका दुई जनालाई अफिस सहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जानकारी दिएका छन् ।

बाँके प्रहरीले जाजरकोटका दुई जनालाई ५ केजी ८ सय ६५ ग्राम अफिम सहित पक्राउ गरेको जानकारी दिएको छ । ‘पक्राउ गरिएकाहरूमाथि थप अनुसन्धान भैरहेको छ’, प्रहरी प्रवक्ता डाँगले भने ।

प्रतिक्रिया

प्रतिक्रिया