छोरा र नागरिकता पर्खेर चुहिने छाप्रो रुँघिरहेकी सीता प्रजा

मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–४, ठाडोखोला गाउँमा वन क्षेत्र नजिकको एउटा छाप्रो । खरले छाएको त्यो छाप्रोको देव्रे भाग ह्वांगै छ ।

छर्लंग आकाश देखिने छानामुनि रात कटाउन विवश छन्, सन्तबहादुर प्रजा र सीता प्रजा ।

त्यही छाप्रो पनि केही वर्षअघिसम्म राम्रै थियो । जेनतेन प्रजा परिवार घामपानीबाट बचेकै थियो । तर ०७२ सालको भूकम्पले त्यही छाप्रोमा पनि क्षति पुर्‍याएपछि भने उनीहरूलाई आपत् आइलाग्यो । चर्किएको छाप्रो टालटुल पारेर उनीहरु दिन त गुजार्न बाध्य छन् ।

भएको बासस्थान पनि भूकम्पले क्षति पुर्‍याएपछि सरकारले नयाँ घर बनाइदिँदै थियो । हाल उनीहरु बसिरहेको छाप्रोभन्दा केही तल बनिरहेको भूकम्प पीडितवापतको आवास गृह पनि ठेकेदारले बीचमै अलपत्र पारेर बेपत्ता भएपछि उनीहरुको बिचल्ली भएको छ ।

स्थानीय ठेकेदार सूर्य चेपाङले घर बनाइदिने जिम्मा लिएका थिए ।

बुढ्यौली लागेर घर वरपर मात्रै हिँड्डुल गर्न सक्ने अवस्थाका सन्तबहादुरको उमेर ८१ वर्ष भयो । श्रीमती सीताको उमेर भने उनैलाई पनि थाहा छैन । ‘मेरो उमेर त थाहा छैन । नागरिकता नै बनेको छैन’, उनले भनिन् ।

सन्तबहादुर दुवै कान सुन्दैनन् । घरको जिम्मेवारी सबै सीताको काँधमा छ । घर अगाडिको सानो छाप्रोमा एउटा पाडी पालेका छन् । घरसँगै जोडिएको ५ कठ्ठा जग्गामा लगाएको मकैले वर्षभरी गुजारा टार्ने गरेको सन्तबहादुरका भाइ विशुरामले सुनाए ।

‘ढिँडो हैन, पिठो खान लागेको । पिठो किनेर ल्याएको थिएँ । बेसाएर खानुपर्छ । सधैं खान कहाँ पुग्छ र ?’ सीता भन्छिन् ।

प्रजा दम्पतीको छाप्रोभित्र २/३ वटा बोराको पोकामा कपडा, गुन्द्री मात्रै थिए । भ्वाङ परेको खरको छानाबाट पानी चुहिने भएपछि कपडालगायतका पानीले भिज्ने वस्तु बोराभित्र हालेको सिताले बताइन् ।

भान्सामा नुन, तेल, बेसारदेखि भाँडाकुँडा पनि पर्याप्त छैनन् । भात र तरकारी पकाउने एउटै कराई, ढिँडो र पिठो पकाउने अर्को कराई र केही कचौरामा उनीहरुको भान्सा चलेको छ ।

सन्तबहादुरको सामाजिक सुरक्षा भत्ताले पिठो किनेर खाइरहेका छन् । सन्तबहादुरले पनि भत्ता बुझ्न थालेको ३ वर्षमात्रै भयो । सीताले भने नागरिकता नबनेकै कारण भत्ता पाएकी छैनन् । प्रत्येक दशैंमा एकै पटक चितवन गढ्यौलीस्थित माइती जान घरबाट निस्किने गरेकी सितालाई नागरिकता कहाँबाट र कसरी बन्छ भन्ने जानकारीसमेत छैन । ‘नागरिकता कसरी बन्छ थाहा छैन । कसैले भनेको छैन,’ उनले सुनाइन् ।

सीताको जन्मदर्ता पनि नभएकाले नागरिकता बनाउन कठिनाइ भएको मनहरी–४ का वडाध्यक्ष प्रकाश थापाले बताए । मकवानपुर महिला समूहले सीताको नागरिकता बनाउन ४ नम्बर वडा कार्यालयमा पहल गरिरहेको छ ।

वडा कार्यालय र प्रजा दम्पतीको घर करिब १ किलोमिटरको दूरीमा छ । थापाले सिताको नागरिकता बनाएर सामाजिक सुरक्षा कार्यक्रममा समावेश तत्काल गराउने प्रतिबद्धता जनाएका छन् ।

वडा कार्यालयसम्म आउन पटक–पटक आग्रह गर्दापनि उनीहरु नआएकोले समयमै काम हुन नसकेको उनको भनाइ छ । अब भने घरमै पुगेर सेवा प्रदान गर्ने वडाध्यक्ष थापा बताउँछन् ।

कमाउन भन्दै घरबाट निस्केका थिए छोरा

सन्तबहादुर र सीताका ३ छोरा सन्तान थिए । जसमध्ये जेठा र कान्छोको मृत्यु भइसकेको छ । उनीहरुको सहारा साइँलो छोरा छ ।

साइँला छोरा २७ वर्षीय नवीन प्रजा कहाँ छन्, उनीहरुलाई पत्तो छैन । दशैंमा कमाइ गर्छु भनेर छोरा हिँडेको र हालसम्म नफर्किएको सीता सुनाउँछिन् । सीताले सुनाइन्, ‘खोइ कहिले पो आउँछ । दशैंमा कमाइ गर्न भनेर गएको । अब दशैंमा त आउन पर्ने । नआएर हुन्छ त ?’ छोरा पर्खिरहेकी सीता आशावादी सुनिन्छिन् ।

सीताका देवर विशुरामका अनुसार नवीन भारतको गोवामा छन । गोवास्थित होटलमा काम गरेको थाहा मात्रै पाएको उनले बताए । नवीनको ६ वर्षकी छोरी छन् । श्रीमती नवीनकी श्रीमति अर्कैसँग बिहेर गरेर गएपछि छोरी मनहरी–४, जेख्रीस्थित मामाघरमै बसेर पढिरहेको विशुरामले बताए ।

सन्तबहादुर र सिताको जेठा छोराको ३० भदौ २०५८ मा मृत्यु भएको विशुरामले जानकारी दिए । जन्डिस भएको तीन दिनमै उनको मृत्यु भएको थियो । चेपाङ समुदायमा अहिले पनि बिरामी भएपछि पहिला अस्पताल नलगी झारफुकमै विश्वास गर्ने गर्छन् । त्यतिबेला उनले समयमै उपचार नपाएको विशुरामले सुनाए । रोगकै कारण कान्छो छोरा बितेको र मिति याद नभए उनले बताए ।

: Online khabar

प्रतिक्रिया

प्रतिक्रिया