नेपालगन्जमा धुमधाम मनाइयो नवौं राष्ट्रिय योग दिवस

नेपालगन्जमा विभिन्न कार्यक्रम गरी नवौं राष्ट्रिय योग दिवस मनाइएको छ । ‘गरौं योग रहांै निरोग’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरि यो वर्षको योग दिवस मनाइएको हो ।


त्यसक्रममा सोमवार विहान योग समिति नेपालको नेपालगन्जस्थित केन्द्रीय कार्यालयबाट निकालिएको र्याली धम्बोजी चोक, वीपी चोक हुँदै नेपालगन्ज उपमहानगरपालिका पुगेर योगाभ्यास कार्यक्रममा परिणत गरिएको थियो ।


योगगुरु, नरैनापुर गाउपालीकाका अध्यक्ष मो. इश्तियाक अहमद शाह योग प्रशिक्षकलगायत योग प्रेमीहरुको उल्लेख्य सहभागितामा भएको र्यालीमा विभिन्न सन्देशमूलक प्लेकार्ड प्रदर्शन गरिएको छ ।


योगगुरु गिरिराज भट्टराइको सभापतित्वमा भएको र्यालीपछिको योगाभ्यास कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, नरैनापुर गाउँपालिका अध्यक्ष मो. इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योग समिति नेपालका सल्लाहकार विश्वजित तिवारी,नन्दलाल वैश्यलगायत सहभागी थिए ।


कार्यक्रममा नगर प्रमुख बिष्टले योग मानव स्वास्थ्यका लागि शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएको हुँदा सबैले योग गर्ने जरुरी रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि बिष्टले आउँदो विश्व योग दिवस भब्यताका साथ मनाइ नेपालगन्ज नगरलाई योगमय बनाउने प्रतिबद्धता पनि जनाएका थिए ।


नरैनापुरका अध्यक्ष शाहले योग अभ्यास जोकसैलाई दिन पनि नमिल्ने र कसैबाट लिन पनि नमिल्ने भएको हुँदा आफुले गरे मात्र आफनो शरीरलाई फाइदा हुने बताए ।


योगगुरु गिरीराज भट्टराईले पछिल्लो समयमा योगतर्फ मानिसहरु आकर्षित भइरहेको बताए । ‘अबका दिनहरुमा योग सबैका लागि महत्वपूर्ण भएकोले ब्यानरमा मात्र सिमित नगराइ दैनिक रुपमा सबैले योग गर्नपर्छ,’ उनले कार्यक्रममा भने ।


नवौ राष्ट्रिय योग दिवसका अवसरमा योग समिति नेपाललाई हरेक माध्यमबाट सहयोग गर्ने ब्यक्तिहरुलाइ सम्मान र मायाको चिनो प्रदान गरिएको थियो । योग समिति नेपालका प्रशिक्षकद्वय झबिलाल शर्मा र निरन्जना मल्लले सञ्चालन गरेको कार्यक्रममा सचिव निर्मला शाहले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया