लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको जन्मोत्सव पारेर सप्ताहब्यापी सामाजिक सेवा अभियान आयोजना गरिन लागेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनले सामाजिक सेवाका सप्ताहव्यापी अभियान सञ्चालन गर्न लागेको हो ।
‘बाँके बर्दियाका दर्जनबढी क्लबहरुले झण्डै ४० वटा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्ने निश्चित भएको छ,’ १४५औं मेल्बिन जोन्स डे सेलिब्रेसन कार्यक्रम संयोजक सरिता शाक्यले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भनिन् ।
संयोजक शाक्यका अनुसार, लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिट ३२५ एन अन्तर्गत एरिया नम्बर ४ बाँके र बर्दियाका लायन्स क्लबहरुको संयुक्त आयोजनामा बाँके र बर्दियामा पुस २२ गतेदेखि सप्ताहव्यापी सामाजिक सेवाका कार्यक्रम हुन लागेका हुन् ।
पौष २८ गतेसम्म चल्ने अभियान अन्तर्गत गरिब र विपन्नहरुलाई मध्यनजर गरेर महिला क्यान्सर सम्बन्धि परीक्षण, न्यानो कपडा वितरण, स्वास्थ्य शिविर (आँखा, कान, घाँटी, मधुमेह, दन्त, एचआइभी), खाद्यान्न वितरण, शैक्षिक सामग्री वितरण, सर्जिकल र औषधि वितरण, सरसफाई, रक्तदान, वृक्षारोपण, फेलोसिप लगायतका कार्यक्रम गरिंदैछ ।
नेपालगन्जमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा लायन्स लिडरहरुले लायन्स क्लब इन्टरनेशनल विश्वको सबैभन्दा ठूलो सामाजिक संस्थाका रुपमा रहेको जनाउ दिंदै यसका नेपालमा भइरहेका सामाजिक गतिविधिबारे प्रकाश पारेका थिए ।
सन् १९१७ सालमा लायन्सका संस्थापक मेल्विन जोन्सले स्थापना गरेको लायन्स क्लब इन्टरनेशनलमा १४ लाख बढी सदस्यहरु आवद्ध छन् । १ सय ५ वर्षदेखि विश्वको सामाजिक सेवामा अग्रसर लायन्स क्लब सन् १९७१ सालदेखि नेपालमा पनि क्रियाशिल छ । नेपालमा करिव ५० हजार सदस्यहरु लायन्स क्लब इन्टरनेशनलमा आवद्ध छन् ।
विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको जन्म सन् १३ जनवरी १८७९ मा भएको हो ।
‘लायन्सले काम गर्ने मुख्य ६ वटा क्षेत्र क्यान्सर, भोकमरी, वातावरण, दृष्टि, युवा, मानवियता तथा फेलोसिप र अन्य सामाजिक कार्यहरुलाई प्राथमिकतामा राखेर मेल्बिन जोन्स डे मनाउने कार्यक्रम रहेको छ,’ पत्रकार सम्मेलनमा डिष्ट्रिट गभर्नर मुकुट ढकालले भने । पूर्व डिष्ट्रिक गभर्नर सेम शाक्य र मधुसुदन शर्मा रिजाल, डिष्ट्रिक सेक्रेटरी उमा थापा मगर, एमजेएफ कृष्ण प्रसाद श्रेष्ठ लगायतको सहभागितामा भएको पत्रकार सम्मेलनको सहजीकरण लायन्स एडभाइजर नरेन्द्र श्रेष्ठले गरेका थिए ।