प्रभाकर भन्छन्, ‘नयाँ नीति र नेतृत्वसहित जनतामा आउँछौं ।’
नेकपा माओबादी केन्द्रका उप–महासचिव जनार्दन शर्मा (प्रभाकर) ले आफ्नो आफ्नो विशेष महाधिवेशनमा जान लागेको बताएका छन् । शनिवार नेपालगन्जमा आयोजित एउटा सभामा प्रभाकरले विशेष महाधिवेशनले नयाँ नीति, नेतृत्व र रणनीति लिएर जनतामाझ आउने प्रतिबद्धता जनाए । जनताको सामाजिक न्यायलाई सरकारले स्थापित गर्ने बताउँदै उप–महासचिव प्रभाकरले माओवादीको अबको बाटो समाजवादको भएको हुनाले स्वदेशमा नै स्वरोजगारको व्यवस्था गरेर युवाहरुलाई विदेशीनबाट रोक्ने योजना बनाउन लागिएको दावी गरे । माओवादीको पार्टीको अभियान मिसन समाजवादी भएको दोहो¥याउदै नेता प्रभाकरले त्यसक्रममा देशैभरीका जनताले दिएका सुझावलाई प्रधानमन्त्री एवं माओबवादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) समक्ष बुझाउने जानकारी दिए ।

बाँकेको मधेशी मुक्ति मोर्चा, मुस्लिम मुक्ति मोर्चा र थारु मुक्ति मोर्चाले शनिबार नेपालगन्जमा आयोजना गरेको संयुक्त भेलाको उद्घाटन गर्दै प्रभाकरले मूलुकमा धर्म निरपेक्षता कायम नै रहने बताए । ‘हिन्दु राज्यको परीकल्पना यदि कसैले गर्दछ भने त्यो केवल दिवा सपना मात्र हुने’ उनको भनाइ थियो । पूर्व अर्थमन्त्रीसमेत रहेका नेता प्रभाकरले चाँडै नै सुकुम्बासी समस्या समाधान हुने ठोकुवा गर्दै भने,‘सरकारको समेत नेतृत्व गरीरहेको नेकपा माओबादीले सरकार, सदन र सडक तीन तहबाट सुकुम्बासी समस्याको समाधान गरेरै छाड्ने छ ।
अब देशमा कोहीपनि सुकुम्बासी बन्नु पर्ने छैन ।’ कार्यक्रममा लुम्बिनी प्रदेश सहरी विकास मन्त्री कृष्णा केसी (नमूना) ले माओबादीबाट जनताले अपेक्षा गरे अनुरुपको प्रतिफल पाउन नसकेको बताइन् । नेतृ नमूनाले माओवादीले जनतालाई उन्मुक्ति दिएर नयाँ राज्य व्यवस्था कायम गरेपनि जनताका आधारभूत कुराहरुलाई पुरा गर्न नसकेकोमा चिन्ता गरिन् । संयुक्त भेलाको उदघाटन सत्रमा बोल्दै मन्त्री नमूनाले आफुले यस क्षेत्रको विकासका निम्ति कुनै पनि कसर बाँकी नराख्ने बताइन् ।
‘मलाई जनताले दिएको माया र भरोसाको परिणाम म यस क्षेत्रमा विकास गरेर देखाउने छु ।’ उनले भनिन्, ‘मेरो कार्यकाल सम्ममा मैले यो प्रदेशलाई विकासको प्रदेशका रुपमा स्थापित गर्नेछु ।’ कार्यक्रममा थारु मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष सन्त कुमार थारुले पहिचानको लडाई लडेर नै पुरानो शासन व्यवस्था उल्ट्याएर ल्याएको गणतन्त्रमा थारु जातिले अझैंपनि अधिकार सहीतको पहिचानको लडाई लड्न बाँकी रहेको धारणा राखे । ‘सामन्ती व्यवस्था अन्त्यको लागि हिजो थारुहरु जागेका थियौं । आजपनि हाम्रो पहिचानको लडाईँ बाँकी नै छ,’ अध्यक्ष थारुले राज्य व्यवस्था परिवर्तन गर्नका लागि थारु जातिको योगदान रहेको बताउँदै अबको लडाईँ राजनीतिक रुपमा आत्मरक्षाका लागि भएको बताए ।
‘ढकिया ढलिसक्यो,’ एउटा प्रसंगमा उनले भने । कार्यक्रममा माओवादीका मधेसी नेता मोहनलाल सोनकरले जनतालाई अधिकार सम्पन्न गराउन माओवादी आन्दोलनको भूमिकालाई जनताले कहिल्यै नबिर्सने बताए । पार्टी जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे (जेम्स)ले पार्टी अभियानबारे बोलेका थिए ।