मन्त्री बस्नेतले भने, ‘भेरी बबई डाइभर्सनको काममा गति देउ’

भेरी बबई डाइभर्सन आयोजनाको कार्यप्रगति प्रभावकारी नभएको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मंगलवार आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई तत्काल कामलाई गति दिन निर्देशन दिएका छन् ।

राष्ट्रिय गौरवको सूचीमा रहेको भए पनि आयोजनाको काम अपेक्षित नदेखिएपछि असन्तुष्ट मन्त्री बस्नेतले भने, ‘आयोजनाको काममा ढिलाइ गर्ने छुट कोही कसैलाई पनि छैन ।’

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सिँचाइतर्फबाट उच्च अधिकारी, आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई अब ढिलाइ सह््य नहुने जनाउँदै मन्त्री बस्नेतले तत्काल काममा गति दिन निर्देशन दिएका हुन् ।

राससका अनुसार, सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँधस्थल र विद्युत् गृहको काममा अपेक्षित प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादका कारण निर्माण कार्यले गति लिन सकेको छैन ।आयोजना सम्वद्ध अधिकारी आयोजनास्थलमा नबस्ने, लामो समयसम्म परामर्शदाताको अभावका कारण निर्माण व्यवसायीलाई आवश्यक निर्देशन तथा परिचालनमा समेत समस्या पैदा भएको छ ।

आयोजनाको प्रगतिको अवस्थाका बारेमा ऊर्जामन्त्री बस्नेतले नियमित रुपमा जानकारी लिँदै आएका छन् ।

आयोजना निर्देशक रणबहादुर बमलगायतका अधिकारीले निर्माण व्यवसायीले काम नगरेको, आवश्यक जनशक्ति परिचालन नगरेको तथा उपकरण एवम् निर्माण सामग्रीको प्रबन्ध नगरेको भन्दै गुनासो गरे ।

एकले अर्कालाई दोष देखाएर आयोजनाका काममा ढिलाइ गरेको भन्दै मन्त्री बस्नेतले भने, ‘एकले अर्कोलाई दोष देखाएर राष्ट्रिय गौरवको आयोजनामा समस्या सिर्जना गर्ने काम नगर्नुस । समस्या के हो ? समाधानको उपाय के हो ? त्यो प्रस्तुत गर्नुस् । ’

अबदेखि हरेक १५ दिनमा सिँचाइ विभागले र हरेक महिनामा मन्त्रालयकातर्फबाट आयोजनाको निरीक्षण गर्ने मन्त्री बस्नेतले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया