वरिष्ठ कवि रेशम विरहीले दिए ‘प्रतिरोधको लय’

‘फुटपाथ एकेडेमी’बाट सडक छेउ ‘कवि कुना’मा ‘प्रतिरोधको लय’ लोकार्पण

वरिष्ठ कवि रेशम विरहीको नविनतम् कविताकृति ‘प्रतिरोधको लय’ शुक्रवार सडकमै लोकार्पण गरिएको छ । कवि विरहीको कविता संग्रह प्रतिरोधको लय राजधानी काठमाडौको न्यूरोडस्थित फुटपाथमा लोकार्पण गरिएको हो ।


विमल निभा, श्यामल, नारायण ढकाल, कृष्णमुरारी भण्डारी, रघु पन्त, पुरुषोत्तम सुवेदीलगायतले विरहीको उपस्थिति विनानै कविता संग्रहको विमोचन गरेका हुन् ।


‘हामी सडकका हौं, त्यसैले पनि तडक भडक भन्दा सामान्य जनको शैली अवलम्वन हो,’ वरिष्ठ कवि विरहीको १३ औं कृति विमोेचनबारे विगत करिब बीस वर्षदेखिको यो शैलीमा अनुभवी स्रष्टा भन्छन्, ‘विमल निभा, नारायण ढकाल लागायतका सबैले यसै गर्ने गरेका छन् ।’


वरिष्ठ कवि विरहीको १३ औं साहित्यकृति ‘प्रतिरोधको लय’ आठौं कविताकृत हो । ‘म चितवन छु त, निकट र मलाई माया गर्ने साथीहरुले यो काम गरेछन्,’ सडकमै कृति विमोचन कार्यक्रमबारे वरिष्ठ कवि विरहीले दैनिक नेपालगन्जसँग भने, ‘मेरो सात वर्ष अघि तुरुप भन्ने कविता पनि यसरीनै भएको थियो ।’ यसपटक शुक्रवारनै मेरो नातिको बिहे भएकोले आफु उपस्थित हुन नसकेको उनले सुनाए ।


इन्डिगो इंकले बजारमा ल्याएको विरहीको यो कविता संग्रहमा ५० कविता छन् । ‘कविता प्रकाशनको ५० वर्ष भएकाले छानिएका ५० कविता संग्रहमा छन्,’ लेखेको धेरै वर्षपनि कविता प्रकाशित गर्न लागेको ५० वर्ष पुगेको जनाउ दिंदै वरिष्ठ कवि विरहीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया