जथाभावी रुख काटिएपछि बबण्डर !

कानुनी उपचारमा जाँदै स्थानीय सरकार, आलोचना गर्दै अधिकारकर्मी

शनिवारको मौका छोपेर नेपालगन्ज चारबाहीनीस्थित सडक किनारका हरिया रुख काटिएका छन् । सम्बद्ध स्रोतका अनुसार, नेपाल विद्युत प्राधिकरणका कर्मचारीले उच्च अदालतकै प्रवेशद्वारका १६ वटा रुख निर्मम रुपमा काटेका हुन् ।

चारबाहीनी तथा अदालत परिसरलाईनै शितलता र सुन्दरता प्रदान गरिरहेका गुलमोहर, शिरीष अनि छतिवनका विभिन्न १६ वटा रुख निर्मम रुपमा काटिएका छन् ।

तार व्यवस्थापनका नाममा नेपाल विद्युत प्राधिकरणले हुर्केबढेका बयस्क रुख जथाभावी काटेपछि सर्वत्र आलोचना भएको छ । अधिकार क्षेत्रभित्रका सरकारी निकायदेखि हरित अधिकारकर्मीसम्मले प्राधिकरणको कार्यप्रति आलोचना गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइएका बयश्क रुख कुनै समन्वय नै नगरी काटिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएको छ ।

‘यो हाम्रो हरित अभियानको बर्खिलाप भयो,’ नगर प्रमुख प्रशान्त विष्टले घटनाको स्थलगत अनुगमनपछि दैनिक नेपालगन्जसँग अधिकार क्षेत्रको लडाईंमा समेत धावा बोलेको संकेत गर्दै भने, ‘तार व्यवस्थापनका लागि काट्नैपर्ने अवस्था थियो भनेपनि स्थानीय सरकारको अधिकार क्षेत्रभित्रको काम भएकाले हामीलेनै त्यसको उपचार गर्न सकिन्थ्यो ।’ उनले कानुनी रुपमै यसको उपचार खोजिने जानकारी दिंदै मनपरी गर्न नहुने बताए ।

नगर प्रमुख विष्टले नगरमा हरियाली प्रबद्र्धन गर्न हुर्काइएका रुख स्थानीय सरकारसंग समन्वय नै नगरी ठूटै हुने बनाएर काटिनु खेदजनक भएको बताए । ‘सार्वजनिक सम्पत्तिको संरक्षणको साटो एउटा सरकारी कार्यालयले नै एक्कासी रुख काट्ने कुराको जति नै निन्दा गरे पनि कम हुन्छ, यो हर्कत विरुद्ध हामी प्रचलित कानुन बमोजिम कारवाहीका लागि सिफारिस गर्छौं ।’

सडक किनारका हरिया रुख काटिएको खबर पाउनासाथ नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, हरित अभियन्ताहरु, नागरिक समाजका प्रतिनिधि लगायत घटनास्थल पुगेका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले न्यूनतम विवेक पनि नभएको एउटा व्यक्तिले गरेको काम जस्तो देखिएको भन्दै हरियाली प्रबद्र्धन गर्ने रुख तहसनहस हुने गरी काटिनु राम्रो नभएको बताए । उनले प्रशासनसंग पनि कुनै समन्वय नगरिएको पनि प्रतिक्रिया दिए ।

नेपालगन्जमा हरियाली प्रबद्र्धन गर्दै सुन्दर सहर बनाउने अभियानलाई झट्का दिने गरी यस्तो काम भएको भन्दै अभियन्ताहरु पनि आक्रोशित भएका छन् । ‘यो घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ,’ ग्रीन एण्ड क्लीन नेपालगन्जका संयोजक डा. विनोद कर्णले भनेका छन् । डा. कर्णको पहलमा नेपालगन्जका तमाम ठाउँमा वृक्षरोपण गरिएका छन् ।

‘ती रुखलाई हुर्काएर यो अवस्थामा ल्याउन कति वर्ष लाग्यो ? त्यसलाई सय गुणा थपेर जरीवाना लाउन जरुरी छ,’ राजन मैनालीले दैनिक नेपालगन्जको पेजमा टिप्पणी गरेका छन् । दिपेश बुढाधोकी, डा. प्रचण्ड गौतम, गोविन्द रेग्मी लगायतले पनि जथाभावी रुख कटानको आलोचना गरेका छन् । ‘अदालतको ढोका अगाडी नै वृक्ष हत्या गरिएछ, हत्यारा को हो पत्ता लगाउनु पर्यो,’ कारबाहीको माग गर्दै राजनीतिकर्मी अशोक कर्माचार्यले भनेका छन् ।

‘मेरै आँखा अगाडी लगाइएर हुर्काइएका रुप त्यसरी काटिएको दृष्यले मन थाम्न सकिन,’ नगर प्रमुख, प्रजिअ लगायतको टोली समक्ष कारबाहीको गुहार लगाएका हरित अभियन्ता हेमन्तराज काफ्लेले दैनिक नेपालगन्जसँग भने, ‘हरिया रुख जथाभावी काट्नु हुँदैन भन्ने सन्देश प्रवाहका लागि पनि यो घटनामा संलग्नहरुलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन जरुरी छ ।’

प्रतिक्रिया

प्रतिक्रिया