लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार

नेपालगन्ज स्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिबद्धता जनाएका छन् ।

हाल १५ शय्यामा सञ्चालित उक्त अस्पतालको बुधवार अनुगमन गर्दै मुख्यमन्त्री चौधरीले चालु आर्थिक वर्षमा नै अस्पतालमा शय्या थपिने प्रतिबद्धता जनाएका हुन् ।

मुख्यमन्त्री चौधरीले अस्पतालको सेवा सुविधालाई अझैं चुस्तदुरुस्त बनाएर बिरामीलाई सहज तरिकाले सेवा प्रवाह गर्नका लागि यसै आर्थिक वर्षमा नै थप ३५ शय्या थप गर्न पहल गर्ने बताए ।

अनुगमनका क्रममा प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठले मुख्यमन्त्री चौधरीलाई अस्पतालका बारेमा जानकारी दिएका थिए ।

विसं २०५५ मा स्थापना भएको उक्त अस्पतालले लुम्बिनी मात्र नभइ कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई समेत सेवा दिँदै आइरहेको डा. श्रेष्ठले जानकारी दिए । प्रदेश अन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको प्रहरी वरिष्ठ उपरीक्षक डा. श्रेष्ठको भनाइ थियो ।

निर्देशक डा. श्रेष्ठले प्रदेश प्रहरी अस्पताललाई तीनवटै प्रदेशको स्वास्थ्य उपचारको ‘हब’ बनाउने योजना रहेको जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया