बिमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अवस्था

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अवस्था आएको बताएका छन् ।

विश्वसनीयता बढे मात्रै पनि यसको महत्त्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बिमामा गुमिरहेको विश्वास फर्काउनुपर्ने बताए ।

नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बिमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले कोरोनापछि बिमा कम्पनीहरूको विश्वास गुम्दै गएको भन्दै अब विश्वसनीयता बढाउन सके प्रदेश सरकारले समेत आवश्यकता अनुसार बिमा नीति बनाउने जानकारी दिए ।

‘विश्वमा बिमा राम्रो छ’,उनले भने,’बिमा सुविधा प्राथामिकतामा पनि पर्छ, तर नेपालमा विश्वसनीयता कम छ यो बढाउनु जरुरी छ । बिमा नीति आवश्यक छ ।’

कार्यक्रममा सहभागीहरू बिमा भुक्तानीमा समस्या र झन्झेट हुने गरेकोले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका थिए । उनीहरुले कोरोना बिमाको रकम अहिलेसम्ममा पनि भुक्तानी नभएको गुनासो समेत गरेका थिए ।

त्यसैगरी कृषिमाबाली बिमा गर्नुपर्ने, पूर्वाधारको बिमा गर्दा सहज हुनुपर्ने र जीवन बिमामा भुक्तानीमा छिटो–छरितो गरिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा अर्थमन्त्री धनबहादुर मास्की, स्वास्थ्य मन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी, योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसी, प्रमुख सचिव राधिका अर्याल लगायतकाले धारण राखेका थिए ।

बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिग्देल लगायतकाले उठेका विषयवस्तुमा प्रष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पूर्णबहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया