व्यवसायी जोगाउन आन्दोलन गरिंदै


कोभिड पछिको अनुदार आर्थिक नीतिले व्यवसायिक क्षेत्र चौपट भएको भन्दै बाँकेमा संयुक्त आन्दोलनको तयारी थालिएको छ । त्यसका लागि सबैभन्दा बढी आफुहरू मारमा परेको भन्दै यहाँका अटो मोबाइल्स व्यवसायीहरूले संयुक्त आन्दोलनको नेतृत्व लिन नेपालगन्ज उद्योग वाणिज्य संघ गुहारेका छन् ।

‘हाम्रो अनुरोधलाई संघले स्वीकार गरेको छ’, शनिबार ज्ञापनपत्र बुझाइसकेपछि संघ नेतृत्वसँग गरेको छलफल पछि बाँके अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष नरेन्द्र बहादुर वलीले दैनिक नेपालगन्जसँग भने, ‘हामीसँग आन्दोलनमा जानुको विकल्प रहेन ।’

अटोमोबाइल्स एशोसिएन सँगै कोहलपुरका क्षेत्रका व्यवसायीहरू संगठित, व्यवसायिक सरोकार मञ्च नेपाल कोहलपुर बाँकेले पनि ऐक्यबद्धता जनाएको छ । ‘यो नीतिगत सुधारका लागि दबाब हो’, मञ्चका अध्यक्ष देवानन्द अर्यालले नेपालगन्ज उद्योग वाणिज्य संघले आन्दोलनको नेतृत्व लिन तयार भएको जनाउँ दिंदै दैनिक नेपालगन्जसँग भने, ‘झुण्डिएर ज्यान गुमाउनु भन्दा आन्दोलनमा गोली खाएर मर्न हामी तयार भएका हौं ।’ अर्यालका अनुसार, नेपाल राष्ट्र बैंकको अनुदार नीतिका कारण कोभिड पछि उत्पन्न आर्थिक मन्दीले दिनहुँ व्यवसायीहरू पलायन हुन र कतिपयले ज्यानै गुमाउने अवस्था सिर्जना भएको छ ।

3

शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सहितका टोलीसँग बाँके अटोमोबाइल्स एशोसिएसनका पदाधिकारी र व्यवसायिक सरोकार मञ्च कोहलपुरको नेतृत्वले ज्ञापनपत्र बुझाउनुका साथै समसामयिक व्यवसायिक समस्याबारे बृहत छलफल आयोजना गरिएको छ । ‘छलफल पछि साझा व्यवसायिक समस्याहरूलाई लिएर समान धारणा बनाउन आगामी बिहीबार संयुक्त भेलाको निर्णय भएको छ’, संघका महासचिव भीम बहादुर रानाभाटले बैठकपछि दैनिक नेपालगन्जसँग भने, ‘त्यहीबाट समान धारणा बनाएर आवश्यक कदम चालिनेछ ।’
छलफलमा संघका अध्यक्ष टंक बहादुर धामी, महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी सहितका पदाधिकारी तथा अटोमोबाइल्स व्यवसायी, विभिन्न प्रतिनिधिमूलक उद्योग, व्यवसायीहरूले आफ्ना समस्या राख्नुका साथै मुख्यतः बैंक ब्याजको मनपरीका कारण धराशयी भएको व्यवसायिक क्षेत्र उत्थानका लागि नीतिगत सुधारबाटै समाधान सम्भव हुने औंल्याइएको थियो । ‘यही अवस्था रहीरहे आर्थिक क्षेत्रमा निकै ठूलो क्षति कसैले रोक्न सक्दैन’, मञ्चका अध्यक्ष अर्यालले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत उद्योग वाणिज्य महासंघलाई समेत व्यवसायिक क्षेत्रका संकटबारे जानकारी पठाइएको बताउँदै भने, ‘महासंघले सुनुवाई गर्न नसके हामीहरू नै गम्भीर ढंगले आन्दोलनमा उत्रिनुको विकल्प रहँदैन ।’
कोभिडकालदेखि आर्थिक मन्दीको दौरसम्म अटोमोबाइल क्षेत्र निरन्तर ओरालो लागिरहेको भन्दै बैंक ब्याजमा सहुलियत र ऋणको समयावधी पाँचदेखि १० बर्ष बढाइदिनु पर्ने माग अघि सारेका छन् ।

‘व्यापारी बचाउने अभियानमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूले यो बेला सहयोग गर्नुपर्छ’, एशोसिएसनका अध्यक्ष वलीले भने, ‘सुनुवाई हुँदैन भने सम्पूर्ण व्यापार, व्यवसाय बन्द गरेर सडक आन्दोलनमा होमिनुको विकल्प हामीसँग भएन ।’
‘नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेमा बाँके र बर्दियाका व्यवसायिक प्रतिनिधि संस्थाहरू र उद्योगी व्यवसायीहरूबीच बृहत छलफलको आयोजना गर्ने निर्णय गरियो’, महासचिव रानाभाटले भने, ‘त्यसका लागि हामीले पहल लिने भएका छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया