नेपाली सेना र निकुञ्जको संयुक्त टोलीद्धारा बर्दिया निकुञ्ज भित्र तिहार लक्षित गस्तिमा कडाई

भावुक योगी

यतीबेला गाउँघर शहरबजार सबैतिर तिहारको चहलपहल छ । दशैँ तिहार जस्ता चाडपर्वका बेला तयारीसंगै घरमै रमाइलोमा बसेका हुन्छन् । तर तिहारको मौका छोपेर निकञ्ज भित्र चोरसिकार र तस्करहरु सकृय पनि हुन सक्छन् । बर्दिया निकुञ्जमा वन्यजन्तुका चोरसिकारी र तस्करीलाई सक्रिय हुन नदिन निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले सुरक्षा सर्तकता बढाएको छ ।

वन्यजन्तुको चोरसिकारीलाई रोक्न निकुञ्ज प्रशासनले यतीबेला नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन गरि निकुञ्ज भित्र स्विप अपरेशन, पट्रोलिङ, र क्यामेरा ट्रयापिङ गरि तिहार लक्षित गस्तिमा कडाइ गरेको छ । दशैँ तिहार सुरु भएयता वन्यजन्तु मार्न र काठ तस्करीका लागि अबैध रुपमा निकुञ्ज प्रवेश गरेकालाई निकुञ्जको टोलीले पक्राउ पनि गरेको निकुञ्जले जनाएको छ ।

कार्तिक २० गतेदेखि २६ गतेसम्म एक साता भित्र बर्दिया निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने बराहताल गाउँपालिका १, तेलपानी क्षेत्रबाट चोरसिकार गरिरहेका जरायोको सुकटी र २ वटा भरुवा वन्दुकसहित ८ जना र भेरीगंगा २, लेखपराजुलबाट ३ वटा भरुवा वन्दुकसहित २ जनालाई पक्राउ गरिएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।

चाडपर्वका बेला बाहिर रहेका मानिसहरु पनि घर आउने र सुनसान भएकाले पनि चोरसिकार र काठ तस्करहरु निकुञ्ज भित्र सक्रिय हुन सक्ने निकुञ्जको भनाई छ । वन्यजन्तुको चोरीशिकारको आरोपमा फरार रहेका व्यक्तिहरु गाउँ आउन सक्ने भएकाले तिनीहरुबाट पनि वन्यजन्तुको सुरक्षामा चुनौती छ । त्यसैले उनीहरु माथि पनि निगरानी बढाईएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जले फरार सुचीमा रहेका व्यक्तिहरु यतीबेला गाउँ आएको सुचना पाएमा पक्राउ गर्ने तयारी गरेको छ ।

वन्यजन्तुको तस्करी हुन नदिन निकुञ्जले सुरक्षा संयत्रलाई प्रभावकारी बनाएको छ । अरुबेला भन्दा यतिबेला बर्दिया निकुञ्ज सुरक्षार्थ खटिएको देवीदत्त गणका नेपाली सेना र निकुञ्जका कर्मचारीले पैदल र गाडी दुवैबाट तिहार लक्षित कडाइका साथ गस्ति सुरु गरेको निकुञ्ज सुरक्षार्थ खटिएको देवीदत्त गणका गणपति हिमालय थापाले बताउनुभयो ।

निकुञ्ज भित्र अति संवेदनशिल क्षेत्रमा क्यामेराहरु पनि जडान गरिएका छन् । निकुञ्जको क्षेत्र भित्र पर्ने राजमार्गका विभिन्न ठाउँमा क्यामेरा जडान गरि वन्यजन्तु र तस्करहरुको निगरानी गरिरहेको निकुञ्जले जनाएको छ । निकुञ्ज भित्र नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त सुरक्षा पोष्टहरु छन् । वन्यजन्तु र काठ तस्करी रोक्न निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको गण र पोष्टहरुबाट नियमित रुपमा पट्रोलिङ (गस्ती) र स्विप अपरेशन मार्फत कर्डाका साथ गस्ति हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

चाडपर्वका बेला समुदायस्तरका कामहरु रोकिएको र कार्यालयमा पनि काम धेरै नहुने भएकाले अधिकाशं कर्मचारीलाई निकुञ्जको गस्तीमै परिचालन गरिएको छ । यतीबेला निकुञ्जमा पर्यटकहरु कम छन् । निकुञ्ज भित्र सुनसान भएकाले पनि वन्यजन्तुहरु अरु बेलाको तुलनामा छ्याछ्याप्ती देखिन्छन् । यसैको मौका छोपेर तस्करहरु सक्रिय हुन सक्ने भएकाले निकुञ्जको सुरक्षामा विशेष योजना बनाएर पर्व लक्षित गस्तिमा कडाई गरिएको निकुञ्जका सहायक संरक्षण बद्रि विनोद दाहालले बताउनुभयो ।

वन र वन्यजन्तुको तस्करी रोक्न निकै संवेदनशिल भएर लागेको बताउँदै विषेश गरि चाडपर्वका बेला वन्यजन्तु जोगाउने सुरक्षा चुनौती बढेकाले यसलाई रोक्न तिहार लक्षित विशेष योजनाका साथ निकुञ्ज प्रशासनले अबरुबेला भन्दा यतिबेला गस्तिमा कडाई सुरु गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

यसैबीच निकुञ्ज प्रशासन र सेनासँगै निकुञ्ज आसापासका स्थानिय युवाहरु पनि चोरीशिकार नियन्त्रणमा लागेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रमा चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान समिति छ । बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रका २ हजार ५ सय युवाहरु अभियानमा छन् । युवाहरु पनि निकुञ्ज र मध्यवर्ती क्षेत्रको सुरक्षामा खटिने गरेको समितिका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो ।

‘निकुञ्ज भित्रका वन र वन्जन्तु जोगाउन निकुञ्जको मध्यवर्ती क्षेत्रका युवाहरु स्वस्फुर्त ढंगबाट लागि परेको १२ वर्ष पुरा भयो, त्यो बेलादेखि हामी संरक्षण अभियानमा छौँ’ अचार्याले भन्नुभयो ।

निकुञ्जसँग हामी सधैँ साथमा रहन्छौँ, नियमित गस्ती पनि गछौँ, यतिबेला चाडपर्वको मौका छोपेर चोरशिकार र काठ तस्करी बढ्ने चिन्ताले चोरशिकारीहरुको पनि निगरानी गरिरहेका छौँ, सहि सुचना निकुञ्जसम्म पुर्याउने काम पनि भईरहेको सञ्जालका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो । निकुञ्जको मध्यवर्ती क्षेत्रमा समुदायस्तरमा गठन गरिएको चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान समितिबाट चोरीशिकार नियन्त्रणमा निकै सहयोग पुगेको निकुञ्ज प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया