भावुक योगी, बर्दिया
निकुञ्जले पाएको गोप्य सूचनाको आधारमा बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने बराहताल गाउँपालिका १, तेलपानीबाट ४० किलो भन्दा बढी सुकुटी र २ थान भरुवा वन्दुकसहित चार जनालाई पक्राउ गरेको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्रि विनोद दाहालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका १, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्र बहादुर वली र दिल बहादुर वली रहेका छन् । चोरसिकारीले निकुञ्ज भित्र जरायो मारेर सुकुटी बनाएको भन्ने गोप्य सूचना पाए लगत्तै निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोलीले सर्च अपरेशन गर्दा उनीहरुलाई घरबाटै पक्राउ गरिएको सहायक प्रमुख संरक्षण अधिकृत दाहालले बताउनुभयो ।
बर्दिया निकुञ्ज तथा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देविदत्त गणको संयुक्त सर्च अपरेशन टोलीले उनीहरुलाई सुर्खेतको बराहताल गाउँपालिका १, तेलपानीबाट जरायोको सुकुटी र भरुवा वन्दुकसहित पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दाहालले बताउनुभयो ।
पक्राउ परेकाहरुको साथबाट ४० किलो भन्दा बढि जरायोको सुकुटीसहित भरुवा बन्दुक २ थान, गोली, बारुद, जाल लगायतका बन्दोबस्तीका सामाग्री बरामद गरिएको छ । उनिहरुलाई एक वर्ष कैद, एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
यस्तै पाँच दिनअघि कार्तिक २१ गते सुर्खेतको भेरीगंगा नगरपालिका २, लेखपराजुलका कमला मरस्याङ्दी मगर र जसबहादुर घर्तीलाई ३ थान भरुवा वन्दुकसहित निकुञ्ज र सेनाको संयुक्त गस्ति टोलीले पक्राउ गरेको उहाँले बताउनुभयो । पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारवाहीका लागि पक्रिया अगाडी बढाइएको जानकारी दिइएको छ ।