भूकम्प प्रभावितमा मानसिक त्रासको समस्या

उपचारका क्रममा मनोसामाजिक परामर्श दिइँदै

जाजरकोट–रुकुमका भुकम्प प्रभावित घाइतेहरुमा मानसिक समस्या देखिएको छ । भेरी अस्पतालमा उपचारार्थ घाइतेहरुमा देखिएका लक्षणहरुले उनीहरुमा गम्भीर मानसिक समस्या देखिएको हो ।

‘भूकम्प प्रभावितहरू घरबार बिहीन भएका मात्र छैनन्, आफन्तहरू गुमाएका छन्,’ भेरी अस्पतालमा घाइतेलाई नियालिरहेकी मनोसामाजिक परामर्शकर्ता कमलाकुमारी डाँगीले दैनिक नेपालगन्जसँग भनिन्, ‘यसले ठूलो मानसिक प्रभाव देखिन सक्छ ।’

जाजरकोट भेरी नगरपालिका १– की जुना बिष्टले संगै सुतिरहेकी १५ बर्षीया बहिनीलाई गुमाइन् । दुइतले कच्चीघरमा माथिल्लो तलामा आमा तल्लो तलामा दिदी बहिनी सुतिरहेका थिए ।

भुकम्पमा परेर आमा सुरक्षित भएपनि जुनाको आधा शरीर माटोले पुरिएको थियो । बहिनी भने च्यापिएर गुहार माग्दापनि जुनाले बचाउन सकिनन् । घटनायता आफै भेरी अस्पतालको शैयामा रहेकी जुनालाई अहिले बहिनीलाई बचाउन नसकेकोमा पछुतो लागेको छ । उनि आफै आधा शरीर पुरिएपछि बोल्न नसक्ने अवस्थामा थिइन् ।

अस्पताल आएको तिनदिन पछि जुनाले मंगलबार मात्र आफनो भावना व्यक्त गरिन् । सिरक भित्र गुम्सिएर बस्ने १७ बर्षीया जुनाको खुट्टा र ढाडमा गम्भीर चोट लागेको छ, देब्रे हात चलिरहेको छैन् ।

‘जहिले पनि सिरकभित्र गुम्सिनुहुने उहाँ तीन दिनपछि बल्ल हामीसंग बोल्नुभयो,’ भेरी अस्पतालमा मनोसामाजिक परामर्शकर्ता डाँगीले भनिन् ,‘जो बोल्नु भएको छैन, ती घाइतेहरुलाई बिशेष काउन्सिलिङ गरिहेका छौं ।’

भेरी अस्पतालले शनिबार देखि भुकम्पका घाइतेहरुलाई मनोसामाजिक परामर्श शुरु गरेको हो । सम्बद्ध चिकित्सकका अनुसार, आफन्त गुमाएकालाई मनोपरामर्र्श दिन सुरु गरिएपनि अधिकांश घाइतेहरु बोल्न सकेका थिएनन् । ‘भोक नलाग्ने, निद्रा नलाग्ने एकोहोरो हुने अवस्थामा सबै घाइतेको अवस्था पाइएको छ,’ मनोपरामर्शकर्ता डाँगी भन्छिन्, ‘धेरै जना डराइरहनुभएको छ अस्पतालमा बढिरहेको भिडले थप भयभित बनाएको देखिन्छ ।’

‘चरणबद्ध रुपमा बोल्न सक्ने भावना ब्यक्त गर्न सक्ने अवस्थामा ल्याउनु पहिलो आवश्यकता हो,’ डाँगीले भनिन्, ‘त्यसैले नियमित रुपमा काउन्सिलिङ गरिरहेका हौं । ’ भूकम्पबाट प्रभावित व्यक्तिको मानसिक स्वास्थ्य स्थितिको विश्लेषण गर्दै भेरी अस्पतालमा मानसिक स्वास्थ्यमा प्रभाव पार्ने कारकहरू बुझ्न थालिएको हो ।

भेरी अस्पतालमा तीन जना मनोसामाजिक परामर्शकर्ता भएपनि डाँगी धानिरहेकी छन् । बिमारीलाई भेट्ने भिडभाडले थप भयभित बनाएकाले पनि शान्त वातावरण दिन सबैले ध्यान दिन जरुरी रहेको डाँगीको सुझाव छ ।

भूकम्पका घाइतेमा मानसिक तनावको संकेत देखिन सक्ने भन्दै सचेत रहन उपचारमा संलग्न चिकित्सकले सुझाएपछि अस्पतालमा मनोसामाजिक परामर्श दिन थालिएको हो ।

भूकम्पपछि खोजी, उद्धार र उपचारलाई प्राथमिकता दिएको पाइएपनि भूकम्पले पार्ने मानसिक असर बुझेर मनोवैज्ञानिक राहत कार्यलाई बढि प्राथमिकता दिइँदैन् ।

‘उहाँहरू अहिले मानसिक रूपमा आफुलाई सम्हाल्न सक्नुभएको छैन्, आफन्त गुमाउँदा घरबास बिहीन हुँदा मन भित्र एक किसिमको त्रास छ’, भेरी अस्पतालकी मानसिक रोग विशेषज्ञ लीला देवकोटाले दैनिक नेपालगन्जसँग भनिन्, ‘छटपटी बढि देखिएको छ, आफन्त गुमाएकाहरु अझै स्टेबल हुनुभएको छैन् ।’

मानसिक रोग विशेषज्ञ देवकोटाका अनुसार, भुकम्प प्रभावित खास गरी बालबालिकामा भूकम्पको उच्च डर, एकाग्रतामा समस्या, चिडचिडापन, रिस उठ्ने, शरीर दुख्ने लक्षण, निन्द्रा नलाग्ने र घरभित्र पस्न नमान्ने जस्ता समस्याहरू देखिन सक्छ । डा. देवकोटा भन्छिन्, ‘भूकम्प प्रभावितहरूले अनुभव गरेका केही लक्षण आकस्मिक, सामान्य हुनसक्ने भएता पनि त्यसले दीर्घकालीन मानसिक रोगको अवस्था ननिम्त्याओस् भन्ने तिर सजग भएर उनिहरुलाई हौसला प्रदान गर्नु अहिलेको मुख्य काम हो ।’

प्रतिक्रिया

प्रतिक्रिया